१८ असोज, काठमाडौ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशनमा स्वदेश तथा विदेशबाट ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन्। कांग्रेसले असोज १८ गते खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने निर्णय यसअघि नै सार्वजनिक गरेको थियो।
महाधिवेशनको तयारी पूरा भएको कांग्रेसले जनाएको छ। पार्टीका केन्द्रीय प्रवक्ता देवराज चालिसेका अनुसार प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ भने केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधि दर्ता भइरहेको छ। उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने संशोधित कार्यतालिका छ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। प्रतिवेदन तथा प्रस्तावमाथि प्रदेशगत समूहमा छलफल गराउने तयारी गरिएको छ। करिब ७ हजार प्रतिनिधि सहभागी हुने भएकाले खुलामञ्चमै ठूलो संरचना बनाएर बन्दसत्र सञ्चालन गर्ने तयारी गरिएको छ।
१८ नयाँ अभ्यासले बदलिँदै कांग्रेसको महाधिवेशन
यसपटकको महाधिवेशन विगतका अधिवेशनभन्दा फरक हुने कांग्रेसले जनाएको छ। विशेष महाधिवेशनबाट संशोधन गरिएको विधान कार्यान्वयनमा आएसँगै युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास लागू गरिँदै छन्।
नयाँ व्यवस्थाअनुसार ३५ वर्षमुनिका युवाको नेतृत्वमा सुनिश्चित प्रतिनिधित्व गरिएको छ। केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका कम्तीमा २१ जना युवा सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। सात प्रदेशबाट दुई–दुई जना र खुला प्रतिस्पर्धाबाट थप सात जना गरी २१ युवा केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
यस्तै, विज्ञ तथा विभिन्न क्षेत्रका दक्ष व्यक्तिलाई पार्टी संरचनामा ल्याउने ‘ल्याटरल इन्ट्री’, महिला तथा समावेशी प्रतिनिधित्व विस्तार, प्रचारप्रसारको शैलीमा परिवर्तनलगायतका अभ्यासलाई यसपटक प्राथमिकता दिइएको छ। ठूला गेट, होर्डिङ बोर्ड, तोरण तथा अत्यधिक झण्डा प्रयोग गरेर गरिने प्रचारलाई निरुत्साहित गर्दै डिजिटल प्रचारमा जोड दिइएको छ।
यसरी नेतृत्व चयनसँगै संगठनमा पुस्तान्तरण, समावेशिता, नयाँ प्रचारशैली र नयाँ कार्यपद्धतिको अभ्यास गर्ने प्रयासका कारण कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीभित्रको संगठनात्मक परिवर्तनको महाधिवेशनका रूपमा पनि हेरिएको छ। यद्यपि यी नयाँ व्यवस्थाको प्रभाव कस्तो रहन्छ भन्ने कुरा महाधिवेशनपछि निर्वाचित नेतृत्व र कार्यसमितिले त्यसलाई कसरी कार्यान्वयन गर्छ भन्नेमा निर्भर हुनेछ।




















