एमाले–नेकपा सहकार्य प्रस्ताव: झापा–५ र दाङ–२ सुरक्षित बनाउन ओलीको पहल

२० माघ, काठमाडौ ।  आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी सहकार्यको प्रस्ताव अघि सारेको स्रोतहरूले बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष संवाद गरी आफू उम्मेदवार रहेको झापा–५ र पार्टी महासचिव शंकर पोखरेल उम्मेदवार रहेको दाङ–२ मा सहयोग मागेको दाबी गरिएको छ।
नेकपा निकट स्रोतका अनुसार ओलीले ती दुई निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्दै सहकार्यको प्रस्ताव गरेका हुन्। प्रस्तावअनुसार, झापा–५ र दाङ–२ मा सहयोगको बदलामा प्रचण्डले चाहेका चार निर्वाचन क्षेत्रमा एमालेले सहयोग गर्ने आश्वासन दिइएको बताइन्छ। स्रोतको दाबी छ—ती क्षेत्रमा प्रतिस्पर्धा कडा बनेपछि एमाले नेतृत्वले सहकार्यको विकल्प खोजेको हो।
यद्यपि उक्त प्रस्तावबारे नेकपाले औपचारिक निर्णय गरेको छैन। पार्टीभित्र एमालेसँग सहकार्य नगर्ने मत बलियो रहेको र विगतका राजनीतिक अनुभवका कारण अविश्वास कायम रहेको बताइन्छ। नेकपाका एक नेताले भने, “आफ्ना शीर्ष नेताको क्षेत्र सुरक्षित गर्न खोजिएको सहकार्यले हाम्रो राजनीतिक लाइन कमजोर बनाउन सक्छ,” भन्दै प्रस्तावप्रति पार्टीभित्र आलोचनात्मक धारणा रहेको संकेत दिए।
बहुदलीय  प्रतिस्पर्धा बढ्दै जाँदा वाम शक्तिहरूबीच सम्भावित समीकरणको चर्चा स्वाभाविक भए पनि नेतृत्वस्तरमा विश्वासको कमी सहकार्यका लागि प्रमुख अवरोध हुन सक्छ। झापा–५ र दाङ–२ दुवै क्षेत्रमा प्रतिस्पर्धा कडा हुने आकलन भइरहेका बेला एमालेले रणनीतिक पहल गरेको देखिन्छ।
चुनाव नजिकिँदै जाँदा वाम राजनीतिमा नयाँ समीकरण बन्ने कि प्रस्ताव अस्वीकार हुँदै प्रतिस्पर्धा प्रत्यक्ष भिडन्तमा जाने—यसले आगामी निर्वाचनको समग्र राजनीतिक चित्रलाई प्रभाव पार्ने देखिएको छ। एमाले–नेकपा सहकार्यको सम्भावना आगामी केही दिनमा हुने निर्णयले स्पष्ट पार्नेछ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more