इरानको जवाफी आक्रमण: खाडीका अमेरिकी सैन्य अड्डा निशानामा, क्षेत्रीय तनाव चुलिँदै

१६ फागुन ,काठमाडौं । अमेरिका र इजरायल ले इरान माथि सैन्य कारबाही सुरु गरेपछि इरानले खाडी तथा मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरी जवाफी आक्रमण गरेको जनाएको छ।
शनिबार बिहान इजरायलले इरानको राजधानी तेहरान सहित विभिन्न स्थानमा आक्रमण गरेको थियो। त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि इरानविरुद्ध अमेरिकी सैन्य कारबाही सुरु भएको बताएका थिए।
जवाफमा इरानले इजरायलतर्फ दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ। इजरायली सञ्चारमाध्यमहरूले हवाई प्रतिरक्षा प्रणालीले ती मिसाइलहरू अवरोध गरिरहेको दृश्य प्रसारण गरेका छन्।
अमेरिकी टेलिभिजन नेटवर्क CNN का अनुसार इरानले कतारस्थित अल उदैद हवाई अड्डा, कुवेतको अल-सालेम हवाई अड्डा, संयुक्त अरब इमिरेट्सको अल धाफ्रा एयर बेस र बहराइनस्थित अमेरिकी नौसेना अड्डालाई निशाना बनाएको जनाएको छ। साथै उत्तरी इराकमा रहेको अमेरिकी आधार शिविरलाई पनि लक्ष्य बनाइएको बताइएको छ।
कतार ले इरानबाट प्रहार गरिएका तीनवटा मिसाइल सफलतापूर्वक खसालिएको जनाएको छ। कुवेत का सैनिक प्रमुखले पनि हवाई प्रतिरक्षा प्रणालीमार्फत मिसाइलहरू अवरोध गरिएको पुष्टि गरेका छन्। जॉर्डन का सैन्य प्रवक्ताले दुईवटा ब्यालिस्टिक मिसाइल रोकिएको बताएका छन्।
संयुक्त अरब इमिरेट्स मा हवाई प्रतिरक्षा प्रणालीले मिसाइल नष्ट गरे पनि त्यसको टुक्रा एक घरमा खसेर एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। यद्यपि इरानको जवाफी हमलाबाट हालसम्म ठूलो क्षति वा व्यापक जनधनको हानि भएको आधिकारिक पुष्टि भने भएको छैन।
यस घटनाक्रमले मध्यपूर्वमा क्षेत्रीय तनाव थप चुलिने जोखिम बढाएको विश्लेषण गरिएको छ। प्रभावित देशहरूले उच्च सुरक्षा सतर्कता अपनाएका छन्।
यसैबीच नेपाल सरकारले इजरायल, इरान तथा अन्य प्रभावित देशमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more