१८ भदौ, जनकपुरधाम। धनुषाको नगराइन नगरपालिका–५ स्थित खिरखिया जाने भित्री बाटोछेउको झाडीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ १८ गते राति करिब २ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लगमाजटहीबाट प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार मिश्रको कमाण्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा प्लास्टिकमा बेरिएको ९ पोका लागूऔषध गाँजा फेला पारेको हो।
प्रहरीले गाँजा बरामद गरी तौल गर्दा १०७.९९८ किलोग्राम रहेको जनाएको छ।
बरामद गाँजाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। साथै, उक्त गाँजा कसले लुकाएर राखेको हो भन्ने विषयमा संलग्न व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



















