बलराको घटनाले शिक्षाक्षेत्रको संस्कार र सुरक्षामाथि गम्भीर प्रश्न उठायो

१६ भदौ, सर्लाही । बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयमा भएको घटनालाई लिएर शिक्षाविद् सुनिल कुमार मल्लिकले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शिक्षाविद् मल्लिकले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “मावि बलरा सर्लाहीमा भएको घटनाले साह्रै पिरोलेको छ। कहाँबाट यस्ता संस्कार विकसित भइरहेछ भन्न कठिन छ।” उनका अनुसार एउटा शिक्षकलाई तथानाम गाली गर्ने, बेपर्द हुने गरी कुटपिट गर्ने तथा प्रशासन र प्रहरीको अगाडि नै जघन्य अपराधजस्तो घटना हुँदा पनि प्रहरी टुलुटुलु हेरेर बस्नु विडम्बनापूर्ण अवस्था हो।

मल्लिकले यस्तो घटनाले समाजमा विकसित हुँदै गएको संस्कार र विद्यालयमा शिक्षकको सम्मान तथा सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्।

उनले शिक्षकहरूले पनि अब आफ्ना सीमाबारे गम्भीर भएर सोच्नुपर्ने र “आउट अफ दि बक्स” गएर नयाँ ढंगले सोच्ने बेला आएको उल्लेख गरेका छन्। साथै, शिक्षकका पेशागत संघ–संगठनहरूले समेत घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ।

यसअघि घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धान भइरहेको जनाएको थियो।

शिक्षा र संस्कार सिकाउने विद्यालयमै शिक्षक–विद्यार्थीबीचको सम्बन्ध हिंसा, अपमान र प्रतिशोधतर्फ उन्मुख हुनु कस्तो समाज निर्माणको संकेत हो भन्ने प्रश्न अहिले थप गम्भीर बनेको छ।

  • सम्बन्धित समाचारहरु

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more

    नेपालमै विश्वस्तरीय क्यान्सर उपचारको प्रयास, डा. बिजेश राज घिमिरे बिरामीको विश्वासको पात्र

    Read more