१४ भदौ, जनकपुरधाम। बाढी प्रभावित क्षेत्रमा तत्काल ओत लाग्ने ठाउँ निर्माणका लागि जस्ता–पाता, मेटल पाइप, बाँस र काठ उपलब्ध गराउन सांसद मनिष झाले आग्रह गरेका छन् ।
बाढी प्रभावित नागरिकलाई सहयोग गर्न इच्छुक तथा त्यसका लागि सामर्थ्य भएका व्यक्ति, संस्था र निकायलाई स्थानीय तहसँग समन्वय गरी आवश्यक सामग्री उपलब्ध गराउन झाले अनुरोध गरेका हुन् ।
उनले नगद सहयोग गर्न चाहनेहरूले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न तथा औषधि, खाद्यान्न, लत्ताकपडालगायतका राहत सामग्री सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउन आग्रह गरेका छन् ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा तत्काल व्यवस्थापन तथा ओत लाग्ने ठाउँ निर्माणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्न सकिने उनले बताएका छन् ।
सांसद झाले विपद्को समयमा राज्यका सबै तहको सक्रिय र इमानदार सहभागिता आवश्यक रहेको उल्लेख गर्दै भनेका छन्, “यो देशमा तीन तहको सरकार र चार तहको राज्य छ। सबैको इमानदार र सक्रिय संलग्नताको आवश्यकता छ।”
बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, अस्थायी आवास र आवश्यक सामग्री उपलब्ध गराउन सरकारी निकायसँगै निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणको समेत सहयोग आवश्यक रहेको उनको भनाइ छ ।


















