९ भदौ, काठमाडौ ।। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आगामी दिनमा पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा समेत वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा समेत विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।

















