धनुषामा बैंकको नाममा KYC अपडेट गराउने भन्दै साइबर ठगी, प्रहरीद्वारा सतर्क रहन आग्रह

४ भदौ, जनकपुरधाम।  सामाजिक सञ्जालमार्फत बैंकको नाम र लोगो दुरुपयोग गरी नागरिकलाई झुक्याएर साइबर ठगी गर्ने क्रम बढेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले आमनागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

प्रहरीका अनुसार WhatsApp, Imo, Viber लगायतका सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंक तथा अन्य विभिन्न बैंकको लोगो प्रयोग गरी नक्कली ID बनाएर बैंकका ग्राहकलाई सम्पर्क गर्ने गरेका छन्। त्यस्ता व्यक्तिले ‘KYC Update गर्नुपर्ने, अन्यथा २४ घण्टामा बैंक खाता बन्द हुने’ भन्दै ग्राहकलाई झुक्याउने गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी विभिन्न किसिमका प्रलोभन देखाएर विश्वासमा पारी नागरिकताको स्क्यान कपी, बैंक खाताको ID तथा Password, OTP कोड माग्ने र बैंकको ATM Card तथा Cheque Book समेत कुरियरमार्फत पठाउन लगाउनेजस्ता गतिविधि भइरहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले अपरिचित व्यक्तिलाई नागरिकता वा परिचय खुल्ने कुनै पनि कागजातको विवरण तथा प्रतिलिपि, बैंक खाताको विवरण, Password र OTP कोड नदिन आग्रह गरेको छ।

प्रहरीले यस्ता झुठा आश्वासन तथा प्रलोभनमा परी व्यक्तिगत तथा बैंकिङ विवरण उपलब्ध गराउँदा आर्थिक क्षतिसँगै कानुनी झन्झटसमेत निम्तिन सक्ने भएकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

बैंक वा अन्य वित्तीय संस्थासम्बन्धी कुनै पनि जानकारी आवश्यक परे सम्बन्धित बैंकको आधिकारिक माध्यमबाट मात्र पुष्टि गर्न र अपरिचित व्यक्तिबाट प्राप्त लिंक, फोन, म्यासेज वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न प्रहरीले आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more