अधिकारमाथि हमला भए सडकबाटै प्रतिवाद गर्नुपर्छ : प्रचण्ड

२ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी तथा सर्वसाधारण जनताको अधिकारमाथि राज्यकै तर्फबाट आक्रमण भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध प्रतिवादका लागि तयार रहन पार्टी नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार नेकपाको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पहिचान, अधिकार र जनजीविकाका सवालमाथि प्रतिगामी शक्तिबाट हमला भइरहेको दाबी गरे। यस्तो परिस्थितिको सामना गर्ने प्रमुख जिम्मेवारी नेकपाको काँधमा आएको उनको भनाइ थियो।

‘हाम्रा मजदुर, किसान र श्रमजीवी जनतामाथि राज्यकै तर्फबाट हमला भइरहेको छ। त्यसको सामना गर्ने मुख्य जिम्मेवारी पनि अहिले इतिहासले हाम्रै काँधमा दिएको छ,’ प्रचण्डले भने।

जनताको अधिकारमाथिको हस्तक्षेप नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने धारणा राख्दै उनले नेकपा लाखौँ क्रान्तिकारी नेता तथा कार्यकर्ताको संगठन भएको बताए। पार्टीले आफ्नो इतिहास र विगतको संघर्षलाई बिर्सन नहुनेमा पनि उनले जोड दिए।

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएपछि मुलुकमा बेथिति र भ्रष्टाचार बढेको आरोपसमेत लगाए। सरकारले सञ्चारमाध्यमको स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै आलोचनात्मक आवाज दबाउन खोजेको उनको दाबी थियो।

यस्ता गतिविधिविरुद्ध राजनीतिक रूपमा आवाज उठाउनुपर्ने भन्दै प्रचण्डले भने, ‘अब बोल्नुपर्छ, नत्र गणतन्त्रमाथि नै प्रहार हुन सक्छ।’

नेकपाले छिट्टै आन्दोलनको कार्यक्रम घोषणा गर्ने संकेत गर्दै उनले त्यसका लागि पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए।

‘हामी छिट्टै आन्दोलनको अपिल गर्छौँ, यसमा सबैको सहयोग चाहिन्छ। तपाईंहरू सबै तयारी अवस्थामा बस्नुहोस्,’ प्रचण्डले भने।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more