२९ साउन,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
राष्ट्रपति पौडेलले शुक्रबार शोक वक्तव्य जारी गर्दै डा. विमलको २०८३ साल साउन २५ गते उपचारका क्रममा निधन भएको खबरले आफूलाई दुःखी बनाएको बताएका हुन्।
लामो समय प्राध्यापन पेसामा संलग्न रही भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा योगदान पुर्याएका डा. विमलका दुई दर्जनभन्दा बढी कृति प्रकाशित रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ती कृति नेपाली समाजका लागि अमूल्य सम्पत्ति भएको बताएका छन्।
डा. विमलको लेखनमा नेपाली र मैथिली समाजको सामाजिक, सांस्कृतिक तथा भाषिक परिवेशको प्रभाव स्पष्ट रूपमा देखिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले उहाँले नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएको स्मरण गरेका छन्।
बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा डा. विमलले कला, चलचित्र, टेलिशृङ्खला तथा नाटकका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको राष्ट्रपति पौडेलले बताएका छन्। साहित्य सिर्जनासँगै अध्यापन र भाषा अनुसन्धानका क्षेत्रमा उहाँले पुर्याएको योगदान सदा स्मरणीय रहने उनको भनाइ छ।
डा. विमलको निधनबाट नेपाली भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले उहाँको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।


















