३० साउन,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपाल नजिक अवस्थित छ।
मनसुनी वायुको प्रभावले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थान र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी एवं हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।
तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।
भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबान र नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


















