शक्ति र पदको आवश्यकता छैन : शेरबहादुर देउवा

२८ साउन, काठमान्डौ ।  नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब आफूलाई कुनै व्यक्तिगत लाभ वा शक्तिको पद आवश्यक नरहेको बताएका छन्।

झन्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै आफ्नो बाँकी जीवन राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

देउवाले आफू व्यक्तिगत शक्ति वा पद प्राप्तिका लागि नभई मुलुकसामु देखिएका राजनीतिक चुनौतीको सामना गर्दै राष्ट्रिय एकता मजबुत बनाउन स्वदेश फर्किएको उल्लेख गरेका छन्।

‘मैले राजनीतिक रूपमा लिनुपर्ने केही छैन। तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नुपर्छ र त्यो अनुभव नयाँ पुस्तासँग बाँड्नु मेरो दायित्व हो,’ देउवाले अपिलमा भनेका छन्।

उनले वर्तमान अवस्थामा मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको पनि औँल्याएका छन्। ४७ वर्षअघिको राजनीतिक परिस्थितिको स्मरण गर्दै देउवाले अहिले पनि राष्ट्रिय एकतालाई मजबुत बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ। मलाई लाग्छ, फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ,’ उनले अपिलमा उल्लेख गरेका छन्।

देउवाले अब आफू सक्रिय राजनीतिमा कुनै पद वा नेतृत्वको आकांक्षासहित नभई मुलुकको सचेत नागरिकका रूपमा योगदान गर्ने बताएका छन्।

‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु। विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,’ देउवाले भनेका छन्।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more