केपी ओलीलाई फालेझैँ बालेनलाई सडक आन्दोलनबाट फाल्छौँ : विकेश साह

२७ साउन, काठमाडौ  । ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारविरुद्ध पुनः सडक आन्दोलन घोषणा गरेको छ। संगठनले आगामी भदौ २३ गते ‘फेक शासनविरुद्ध असल शासन’ नारासहित देशव्यापी प्रदर्शन गर्ने जनाएको छ।
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत वर्तमान सरकारलाई ‘असंवैधानिक, दमनकारी र फेक’ भएको आरोप लगाउँदै आन्दोलनको घोषणा गरेका हुन्। उनले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई सडक आन्दोलनबाट हटाएझैँ बालेन नेतृत्वको सरकारलाई पनि सडक आन्दोलनबाट हटाउने चेतावनी दिएका छन्।
साहले जेनजी आन्दोलनको उद्देश्य केवल सरकार परिवर्तन गर्नु नभई राज्य प्रणालीमै आमूल परिवर्तन ल्याउनु रहेको दाबी गरेका छन्। तर केही ‘छद्मभेषी र स्वार्थी समूह’ले आन्दोलनलाई हाइज्याक गरेर केही पात्र र सरकार परिवर्तन गर्ने खेलमा सीमित पारेको आरोप उनले लगाएका छन्।
उनका अनुसार आन्दोलनमा रगत बगाएका सहिद तथा घाइतेहरू अहिले सहाराविहीन बनेका छन् भने परिवर्तन चाहने नेपाली जनता निराश भएका छन्। वर्तमान सरकारको चरित्र दमनकारी रहेको आरोप लगाउँदै कमन जेनजीले सुकुम्बासीको उठिबास, निर्दोष युवामाथि गोली प्रहार, संसद् तथा संवैधानिक संस्थाको मानमर्दन र नागरिकका संवैधानिक अधिकार खोस्ने काम भइरहेको दाबी गरेको छ।
त्यस्तै, सरकार गठन भएको चार महिना बितिसक्दा पनि किसानले मल नपाएको, मूल्यवृद्धि, कर आतंक र ग्यासको लाइनजस्ता समस्या समाधान हुन नसकेको साहको आरोप छ। जनताका आधारभूत समस्या समाधान गर्नुपर्ने सरकार ‘काण्डै काण्डको शृङ्खला’ सिर्जना गर्न केन्द्रित भएको उनले टिप्पणी गरेका छन्।
विगतमा शक्तिशाली सरकारसमेत २४ घण्टामै ढलेको स्मरण गराउँदै साहले वर्तमान रास्वपा सरकारलाई जनविरोधी गतिविधि नगर्न चेतावनी दिएका छन्। उनले सरकारसँग जेनजी आन्दोलनका माग सम्बोधन गर्नसमेत आग्रह गरेका छन्।
कमन जेनजीले आगामी आन्दोलन आफूहरूको रहर नभई बाध्यता भएको जनाएको छ। संगठनले परिवर्तन चाहने युवा, राजनीतिक दल, नागरिक समाज तथा राष्ट्रवादी शक्तिलाई आन्दोलनमा एकजुट हुन आह्वान गरेको छ।
गत भदौमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २०८२ फागुन २१ गते निर्वाचन गराएको थियो। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएपछि बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो। तर वर्तमान सरकारले जेनजी आन्दोलनका माग सम्बोधन गर्न असफल भएको कमन जेनजीको आरोप छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more