एआईको दुरुपयोग गरी फेक फोटो–भिडियो बनाए कडा कारबाही हुन्छ : साइबर ब्यूरो

२७ साउन, काठमाडौ  । नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत भ्रामक तथा आपत्तिजनक सामग्री उत्पादन र प्रसार नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी विभिन्न व्यक्ति तथा संघसंस्थाका कृत्रिम फोटो तथा भिडियो बनाउने, भ्रमपूर्ण सूचना प्रकाशन गर्ने, चरित्रहत्या गर्ने उद्देश्यले श्रव्यदृश्य सामग्री तयार गर्ने तथा आम जनमानसमा त्रास सिर्जना गर्ने गतिविधि भइरहेको जनाएको हो।
साइबर ब्यूरोका अनुसार प्रविधिको विकाससँगै एआईको दुरुपयोग गरेर सिर्जना गरिएका यस्ता सामग्री सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा तीव्र रूपमा फैलिन थालेका छन्। यस्ता गतिविधिले व्यक्ति तथा संस्थाको प्रतिष्ठामा असर पार्नुका साथै समाजमा भ्रम, तनाव र त्रास सिर्जना गर्न सक्ने प्रहरीको भनाइ छ।
ब्यूरोले एआईको दुरुपयोग गरी गरिने यस्ता कार्य नैतिक रूपमा गलत हुनुका साथै कानुनी रूपमा समेत दण्डनीय हुने स्पष्ट पारेको छ। त्यस्ता सामग्रीमार्फत समाजमा त्रास सिर्जना गर्ने वा व्यक्ति तथा संघसंस्थाको चरित्रहत्या गर्ने कार्यमा संलग्न हुनेलाई प्रचलित कानुनबमोजिम कडा भन्दा कडा सजाय हुनेतर्फ प्रहरीले सचेत गराएको छ।
साइबर ब्यूरोले अनलाइन माध्यममा प्राप्त हुने हरेक विषयलाई हतारमा सत्य नमान्न र सूचना तथा समाचारको आधिकारिकता विश्वसनीय स्रोतबाट पुष्टि गरेर मात्र विश्वास गर्न आम नागरिकलाई आग्रह गरेको छ।
प्रविधिको दुरुपयोगबाट हुने साइबर अपराध नियन्त्रण तथा अनुसन्धान साइबर ब्यूरोको प्रमुख जिम्मेवारीमध्ये एक हो। नेपाल प्रहरीले पनि प्रविधिको दुरुपयोगबाट हुने अपराधको अनुसन्धान तथा रोकथामलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more