२६ साउन , जनकपुरधाम। वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको निधनमा जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिनका लागि नगर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको छ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहद्वारा जारी शोकसम्बन्धी पत्रमा जनकपुरधामको शिक्षा, संस्कृति, पूर्वीय दर्शन तथा मैथिली र नेपाली साहित्यको जगतमा उल्लेखनीय योगदान पुर्याएका वरिष्ठ साहित्यकार एवं प्राध्यापक डा. विमलको साउन २५ गते राति ९ बजे असामयिक स्वर्गारोहण भएको उल्लेख छ।
उपमहानगरपालिकाले डा. विमलको निधनले जनकपुरधामको साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने साहस प्रदान होस् भन्ने कामनासमेत गरिएको छ।
उपमहानगरपालिकाले साउन २७ गते बुधबार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था—सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउन एक दिनका लागि पठनपाठन बन्द गर्न अनुरोध गरेको हो।
डा. विमलको निधनप्रति यसअघि पनि विभिन्न साहित्यिक, शैक्षिक तथा सामाजिक क्षेत्रबाट दुःख व्यक्त हुँदै आएको छ।


















