देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न माग

२५ साउन, सुनसरी ।  सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न माग गर्दै विभिन्न राजनीतिक दल तथा स्थानीय जनप्रतिनिधिले सरकारलाई सम्झौता कार्यान्वयनमा ढिलाइ नगर्न चेतावनी दिएका छन्।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उनीहरूले पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका हुन्। सम्झौतामा घटनाका मृतकलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने तथा घटनाको निष्पक्ष छानबिन सात दिनभित्र गर्ने प्रतिबद्धता जनाइएको भए पनि लामो समय बितिसक्दा समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ।
विज्ञप्तिमा काठमाडौंमा उपचारका क्रममा निधन भएका सुनसरीका रविन्द्र मेहताको मृत्यु भएको एक साता बितिसक्दा समेत शवको अन्त्येष्टि हुन नसकेको विषयलाई गम्भीर र संवेदनशील भनिएको छ। मृत्युपश्चात् सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने परिवारको अधिकारसमेत कुण्ठित हुने अवस्था सिर्जना भएको भन्दै सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाइएको छ।
उनीहरूले देवानगञ्ज घटनाका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहता, सिरहाको गोलबजार घटनाका मृतक गणेश यादव तथा उपचारका क्रममा निधन भएका रविन्द्र मेहतालाई तत्काल शहीद घोषणा गर्न माग गरेका छन्।
त्यस्तै, सम्झौतामा उल्लेखित क्षतिपूर्ति, रोजगारी, राहत तथा अन्य प्रतिबद्धता अविलम्ब कार्यान्वयन गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
विज्ञप्तिमा गत १४ गते जारी गरिएको आठबुँदे मागसहितको वक्तव्य र १५ गते बिहान प्रधानमन्त्रीसँग भएको छलफललाई समेत सरकारलाई पुनः स्मरण गराइएको छ। सम्झौता राजनीतिक आश्वासन नभई राज्यले गरेको लिखित प्रतिबद्धता भएकाले त्यसको पालना गर्नुपर्ने उनीहरूको भनाइ छ।
सरकारले तत्काल निर्णय गरी न्यायपूर्ण समाधानको बाटो नखोलेमा गैरजिम्मेवार रवैयाविरुद्ध शान्तिपूर्ण तथा सशक्त लोकतान्त्रिक संघर्ष अघि बढाउन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ। साथै, पीडित परिवारको धैर्यको थप परीक्षा नलिन र परिस्थितिलाई जटिल बन्न नदिन सरकारलाई गम्भीर आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more