वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

२६ साउन, जनकपुरधाम —। वरिष्ठ साहित्यकार, भाषाविद् तथा प्राज्ञिक व्यक्तित्व प्रा.डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। गएराति अक्सिजनको मात्रा कम भएपछि परिवारले उपचारका लागि जनकपुर अस्पताल पुर्‍याएका विमलको उपचारकै क्रममा मंगलबार बिहान निधन भएको हो।
धनुषाको जनकपुर–१० देवीचोकमा जन्मिएका विमलले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तथा भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए। २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा संलग्न उनी नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा साहित्य सिर्जना गर्दै आएका थिए।
नेपाली भाषा–वाङ्मयमा पुर्‍याएको योगदानका लागि उनलाई २०६६ सालमा जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्षसमेत रहेका विमलले मैथिली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।
विमलका ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा. विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ र ‘फिस्टी रानी’ लगायतका कृति प्रकाशित छन्। उनको पहिलो कथा ‘विपतिया’ मिथिला मिहिर पत्रिकामा प्रकाशित भएको थियो। त्यसपछि उनका रचना गोरखापत्र, मधुपर्क, गरिमालगायतका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए।
उनको कथामा आधारित मैथिली टेलिफिल्म ‘हंसा चलल परदेश’ नेपाल टेलिभिजनबाट समेत प्रसारण भएको थियो। उनका सिर्जनामा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनका पीडा, प्रेम, वियोग, आक्रोश तथा विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ।
विमलको निधनले मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन्।
राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रा.डा. विमलको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आज दिउँसो अन्त्येष्टि गरिने भएको छ। संघीय संस्कृति मन्त्रीको उपस्थितिमा जनकपुरधाममा अन्त्येष्टि गरिने तयारी गरिएको जनाइएको छ।
अन्तिम संस्कारमा स्थानीय सांसद मनिष झा तथा संघीय सरकारका मन्त्रीसमेत सहभागी हुने जानकारी प्राप्त भएको छ।
अन्तिम दर्शन तथा नागरिक अभिनन्दनका लागि विमलको पार्थिव शरीर आज दिउँसो ३:३० बजे जनक चौकमा राखिने जनाइएको छ। साहित्य, भाषा, संस्कृति तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विमलप्रति श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा साहित्यकार, बुद्धिजीवी, शुभेच्छुक तथा सर्वसाधारणको उपस्थिति रहने अपेक्षा गरिएको छ।
प्रा.डा. राजेन्द्र विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एक विशिष्ट सर्जक, भाषाविद् र अध्येतालाई गुमाएको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more