२५ साउन, काठमाडौ । — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले मधेशी समुदायलाई हेर्ने दृष्टिकोण र व्यवहारबारे हुनुपर्ने बहस ‘कालो चस्मा’मा सीमित भएको टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद यादवले सदनमा आलोचना हुनुपर्ने वास्तविक विषयभन्दा बहस अन्यत्र मोडिएको बताए।
उनले दशकौँदेखि मधेशी समुदायलाई हेर्ने ‘कालो नजर’बारे बहस हुनुपर्नेमा अहिले बहस ‘कालो चस्मा’तर्फ केन्द्रित भएको बताए।
“सदनमा आलोचना हुनुपर्ने विषय अर्को थियो, तर बहस अर्केतिर मोडिएको छ। बहस दशकौँदेखि मधेशीलाई हेर्ने कालो नजरमा हुनुपर्थ्यो। तर आज बहस कालो चस्मामा सीमित भएको छ,” यादवले भने।
यादवले कुनै समय नेपाली कांग्रेसका नेता बीपी कोइरालाले कालो चस्मा लगाउने गरेको प्रसंगसमेत उल्लेख गरे। उनले बीपीले कालो चस्मा लगाए पनि उनको नियत कालो नभएको र दृष्टिकोण साँघुरो नभएको बताए।
“कुनै समय थियो, बीपीले कालो चस्मा लगाउनु हुन्थ्यो, तर उहाँको नियत कालो थिएन, दृष्टिकोण साँघुरो थिएन,” उनले भने।


















