जनकपुरधाममा मैथिली साहित्य समाजको १५०औँ मासिक कविगोष्ठी सम्पन्न

२४ साउन,  जनकपुरधाम । मैथिली साहित्य समाज जनकपुरधामको आयोजनामा १५०औँ मासिक कविगोष्ठी विशेष समारोह शनिबार जनकपुरधामस्थित नेपाल बार एशोसिएसनको सभाकक्षमा सम्पन्न भएको छ।
मैथिली साहित्य समाजका अध्यक्ष विजय दत्त ‘मणि’को अध्यक्षता तथा पूर्व जनस्वास्थ्य निर्देशक विजय कुमार झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि, साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी कविहरूले आफ्ना रचना वाचन गरेका थिए। निरन्तर डेढ सय महिनासम्म मासिक कविगोष्ठीलाई निरन्तरता दिनु मैथिली भाषा तथा साहित्यका लागि महत्वपूर्ण उपलब्धि भएको वक्ताहरूले बताएका छन्।
कार्यक्रमका संयोजक काशीकान्त झा ‘रसिक’का अनुसार मैथिली साहित्य समाजको ब्यानरमा १५०, रामानन्द युवा क्लबमा ३६ तथा फुटकर रूपमा करिब १०० गरी हालसम्म २८६ वटा कविगोष्ठी सम्पन्न भइसकेका छन्। साढे १२ वर्षको अवधिमा दर्जनौँ नयाँ कविलाई मञ्च उपलब्ध गराइएको र आगामी दिनमा पनि साहित्यिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।
समारोहको मुख्य आकर्षण बिहारकुण्डस्थित जुगलजोरी मन्दिरकी बैदेही ठाकुरको गायन प्रस्तुति रह्यो। जानकीरमन ठाकुरको तबला वादनसहितको उनको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। दुवै कलाकारको प्रस्तुतिबाट सभाकक्षमा उपस्थित साहित्यप्रेमी तथा दर्शक मन्त्रमुग्ध भएका थिए।
विशिष्ट अतिथि अधिवक्ता श्याम कुमार मिश्रले बैदेही ठाकुरको प्रतिभाको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो हैसियतअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथिहरू शीतल झा, श्याम कुमार मिश्र, अयोध्यानाथ चौधरी तथा डा. अनिल अग्रवालले मन्तव्य राख्दै मैथिली भाषा तथा साहित्यको विकासका लागि निरन्तर साहित्यिक गतिविधिको महत्वमाथि चर्चा गरे।
समारोहमा विजय दत्त ‘मणि’, काशीकान्त झा ‘रसिक’, देवीकान्त मिश्र ‘मुसनजी’, शुभचन्द्र झा, प्रमोद कुमार झा, फुलेन्द्रलाल कर्ण, बिन्दु ठाकुर, पूनम झा ‘मैथिली’, मोती झा, किरण झा ‘रश्मि’, विभा पाण्डे, सुजित कुमार झा, बैद्यनाथ पासमान, धीरेन्द्र झा ‘मैथिल’, सुमित कुमार झा, आस्था झा, सृष्टि यादव, प्रणय मिश्र, दीपक भण्डारी, विजय यादव लगायतका कविहरूले कविता वाचन गरेका थिए।
कवि अभिष्टनारायण झाको सञ्चालनमा सम्पन्न कार्यक्रमलाई जनकपुरधामको साहित्यिक गतिविधिमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

  • सम्बन्धित समाचारहरु

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more

    नेपालमै विश्वस्तरीय क्यान्सर उपचारको प्रयास, डा. बिजेश राज घिमिरे बिरामीको विश्वासको पात्र

    Read more