ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीको विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२१ साउन, जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर संघीय सरकारले अन्यत्र सार्ने तयारी गरेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्।
मिथिला नगरपालिका–ढल्केबरका स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाको टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ढल्केबरका लागि स्वीकृत ट्रमा सेन्टर यथास्थानमै स्थापना गर्न माग गरेका हुन्।
प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा सरकारले यसअघि ढल्केबरमा ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरे पनि पछिल्लो समय त्यसलाई अन्यत्र सार्ने चर्चा सार्वजनिक भएपछि स्थानीयमा गम्भीर चिन्ता र असन्तुष्टि उत्पन्न भएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा ढल्केबर पूर्व–पश्चिम राजमार्ग र पुष्पलाल (मध्यपहाडी) राजमार्ग जोडिने रणनीतिक स्थान भएकाले यहाँ ट्रमा सेन्टरको आवश्यकता झन् बढी रहेको उल्लेख गर्दै दुर्घटनाका घाइतेको शीघ्र उपचारका लागि पूर्वनिर्धारित स्थानमै ट्रमा सेन्टर स्थापना गर्न सरकारसँग आग्रह गरिएको छ।
स्थानीयवासीले ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णय स्वीकार्य नहुने चेतावनी दिँदै सरकारबाट शीघ्र स्पष्ट निर्णय आउनुपर्ने माग गरेका छन्। साथै, माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीले ग्रहण गर्दै आवश्यक प्रक्रियाअनुसार प्रधानमन्त्री तथा सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more