९ साउन, नयाँ दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले नीट (NEET) प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर चर्किएको विद्यार्थी आन्दोलन र बढ्दो जनदबाबबीच पदबाट राजीनामा दिएका छन्।
दिल्लीस्थित जन्तरमन्तरमा ककरोच जनता पार्टी (CJP) को नेतृत्वमा ३६ दिनदेखि जारी आन्दोलनको मुख्य माग शिक्षामन्त्री प्रधानको राजीनामा थियो। आन्दोलनलाई सामाजिक अभियन्ता सोनम वाङ्गचुकसहित विभिन्न विद्यार्थी तथा नागरिक समूहले समर्थन गरेका थिए।
राजीनामापछि आन्दोलनकारीहरूले यसलाई आफ्नो ठूलो राजनीतिक तथा नैतिक जितको रूपमा व्याख्या गर्दै जन्तरमन्तरमा उत्सव मनाएका छन्। CJP ले शिक्षामन्त्रीको राजीनामा आन्दोलनको प्रमुख उपलब्धि भएको जनाएको छ।
राजीनामा घोषणा गर्दै धर्मेन्द्र प्रधानले युवाको भविष्य, राष्ट्रिय एकता र परीक्षा प्रणालीप्रतिको विश्वास कायम राख्ने उद्देश्यले आफूले पद छाड्ने निर्णय गरेको बताएका छन्।
नीट प्रश्नपत्र चुहावट विवादले भारतभर व्यापक असन्तुष्टि सिर्जना गरेको थियो। आन्दोलनकारीहरूले परीक्षा प्रणालीमा पारदर्शिता, दोषीमाथि कडा कारबाही र शिक्षा क्षेत्रमा व्यापक सुधारको माग गर्दै आन्दोलन जारी राखेका छन्।


















