८ साउन , जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य संघले मधेश प्रदेश सरकारका गृहमन्त्रीले होटल तथा पर्यटन व्यवसायहरूको अनुगमनका क्रममा अपनाएको व्यवहार र शैलीप्रति गम्भीर आपत्ति जनाएको छ। संघले कानुनअनुसार हुने अनुगमनमा कुनै असहमति नरहे पनि अनुगमनको नाममा व्यवसायीहरूको आत्मसम्मानमा चोट पुग्ने, अनावश्यक दबाब सिर्जना गर्ने तथा प्रचारमुखी शैली अपनाइनु स्वीकार्य नहुने स्पष्ट गरेको छ।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा वर्तमान आर्थिक मन्दी, घट्दो व्यापार र विविध चुनौतीबीच व्यवसायीहरू कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा उनीहरूको मनोबल कमजोर बनाउने वा आतंकित महसुस गराउने व्यवहारले निजी क्षेत्रको आत्मविश्वासमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।
संघले सम्बन्धित गृहमन्त्रीलाई कानुनसम्मत, मर्यादित, सम्मानजनक तथा व्यवसायमैत्री ढंगबाट अनुगमन गर्न आग्रह गरेको छ। साथै, सरकार र निजी क्षेत्रबीच सहकार्य, पारस्परिक सम्मान र विश्वासको वातावरण कायम भएमा मात्रै प्रदेशको आर्थिक विकास र पर्यटन क्षेत्रलाई थप सबल बनाउन सकिने विश्वास व्यक्त गरेको छ।
अध्यक्ष भण्डारीले सरकार र निजी क्षेत्रबीच सकारात्मक सम्बन्ध कायम राख्दै व्यवसायमैत्री वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। उनले कानुनी शासनको सम्मान गर्दै व्यवसायीहरूको आत्मसम्मान र अधिकारको संरक्षण हुने वातावरण सुनिश्चित गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


















