मधेशमा कांग्रेस नेतृत्वकै सरकार निरन्तर रहने, तीन दल चुनावसम्म सहकार्य गर्ने

३२ असार , जनकपुरधाम।  — मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ। अन्य प्रदेशमा कांग्रेस–एमाले गठबन्धनमा फेरबदलको चर्चा चलिरहेका बेला मधेशमा भने कांग्रेस, नेकपा एमाले र नेकपाबीचको सहकार्य यथावत् रहने सहमति भएको छ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव तथा अर्थमन्त्री युवराज भट्टराईबीच भएको छलफलमा वर्तमान सरकारलाई चुनावसम्म निरन्तरता दिने प्रतिबद्धता दोहोर्याइएको हो।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेशस्तरमा तीन दलबीच कुनै विवाद नरहेको भन्दै केन्द्रको राजनीतिक समीकरणले मधेश सरकारलाई असर नगर्ने स्पष्ट पारे। उनले प्रदेशको गठबन्धन चुनावसम्म कायम रहने विश्वास व्यक्त गरे।
अर्थमन्त्री युवराज भट्टराईले पनि मधेश प्रदेशको गठबन्धन विशिष्ट राजनीतिक परिस्थितिमा बनेको उल्लेख गर्दै अन्य प्रदेशको राजनीतिक परिवर्तनले यहाँको सरकार प्रभावित नहुने बताए। उनले हालै सरकारको बजेट सर्वसम्मत रूपमा पारित भएकाले सरकारलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए।
उल्लेखनीय छ, गत १२ जेठमा सरकार विस्तारअघि तीन दलबीच चुनावसम्म सहकार्य गर्ने लगायत १५ बुँदे सहमति भएको थियो।
मुख्यमन्त्री कृष्णप्रसाद यादव गत १९ मंसिरमा कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) सहित ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more