कांग्रेसमा निरंकुश प्रवृत्ति देखिन थाल्यो : डा. शेखर कोइराला

३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता कमजोर हुँदै गएको र निरंकुश प्रवृत्ति देखिन थालेको बताएका छन्।
विराटनगरमा संस्थापन इतर समूहद्वारा आयोजित एकता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको स्थापना नै लोकतन्त्रको रक्षा र निरंकुशताको अन्त्यका लागि भएको स्मरण गराउँदै पछिल्लो अभ्यास भने त्यसको विपरीत दिशामा गएको टिप्पणी गरे।
उनले पछिल्ला दिनहरूमा वडास्तरका सभापतिहरूलाई समेत पर्याप्त प्रक्रिया पूरा नगरी मौखिक रूपमा पदमुक्त गर्ने जस्ता गतिविधि देखिन थालेको उल्लेख गर्दै यसले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको संकेत गरेको बताए।
‘कांग्रेसको जन्म नै लोकतन्त्र र स्वतन्त्रताको लागि भएको हो,’ कोइरालाले भने, ‘तर अहिले अद्यावधिक नगरेको बहानामा वडास्तरका नेतृत्व हटाइने प्रवृत्ति देखिएको छ। यो निरंकुशताको सुरुवात हो।’
कोइरालाले कांग्रेसभित्र सहमति, सहकार्य र एकताको वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै यिनै आधारमा पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए। ‘एकता बिना कांग्रेस अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र मात्र होइन, देशको सार्वभौमिकता र अखण्डतासमेत कमजोर हुन्छ।’
उनले सामाजिक सञ्जालमा आउने प्रतिक्रियाको पछि नलाग्न आग्रह गर्दै पार्टीका मूल मुद्दा संगठनात्मक सुधार र आन्तरिक संवादमा केन्द्रित हुनुपर्ने धारणा राखे।
कोइरालाले सभापति गगन थापासँग भएको छलफलपछि पाँचबुँदे प्रस्ताव तयार गरिएको तर एक महिनासम्म पनि त्यसको कार्यान्वयन वा समाधान ननिस्किएको बताए।
उनले वर्तमान परिस्थितिमा कांग्रेसलाई यथास्थितिमा अगाडि बढाउन कठिन रहेको उल्लेख गर्दै तत्काल संगठनात्मक सुधार र आन्तरिक एकताको आवश्यकता औँल्याए।

  • सम्बन्धित समाचारहरु

    पाँच वर्षभित्र युवाको विदेशिने बाध्यता अन्त्य हुन्छ : अर्थमन्त्री वाग्ले

    Read more

    राजगुठि मठ–मन्दिर र पोखरीको जग्गा अतिक्रमण हटाउन गुठी संस्थानको सार्वजनिक सूचना

    Read more