२७ जेठ, काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले दरबार हत्याकाण्डको छानबिन प्रक्रिया स्वागतयोग्य भए पनि अन्य चर्चित तथा शंकास्पद घटनाको समेत निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले नेपाल राजदरबार हत्याकाण्ड मात्र नभई मदन भण्डारी को मृत्यु, सुशील कोइराला को निधनलगायतका घटनाको पनि पुनः छानबिन गर्नुपर्ने माग गरेका हुन्।
गृहमन्त्रीले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयलाई सकारात्मक कदम भन्दै उनले अनुसन्धान स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिए। “केही व्यक्तिलाई राखेर औपचारिकता पूरा गर्ने हिसाबले मात्र छानबिन गरियो भने त्यसको कुनै अर्थ हुँदैन,” उनले भने।
घिसिङले दरबार हत्याकाण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको सम्भावित भूमिकाबारे विभिन्न प्रश्न उठ्दै आएको उल्लेख गर्दै अनुसन्धान टोलीमा अन्तर्राष्ट्रिय विज्ञहरूलाई समेत सहभागी गराउनुपर्ने धारणा राखे।
उनले मदन भण्डारी को मृत्युबारे पनि सत्यतथ्य सार्वजनिक हुन नसकेको भन्दै प्रश्न उठाए। “पटक–पटक सरकार बने, राष्ट्रपति र प्रधानमन्त्री पनि त्यही पार्टीबाट भए, तर अहिलेसम्म सत्य किन बाहिर आएन ? त्यसको जवाफ आउनुपर्छ,” उनले भने।
पूर्व प्रधानमन्त्री सुशील कोइराला को निधनबारे पनि विभिन्न समयमा प्रश्न उठेको उल्लेख गर्दै उनले त्यस विषयमा समेत तथ्यपरक छानबिन आवश्यक रहेको बताए।
घिसिङले राजनीतिक व्यक्तित्वसँग सम्बन्धित घटनामा मात्र सीमित नभई निर्मला पन्त हत्या प्रकरण र टीकापुर घटना जस्ता चर्चित घटनाको पनि गहिरो अनुसन्धान हुनुपर्ने माग गरे।
देशमा भएका विवादास्पद तथा चर्चित घटनाको सत्यतथ्य बाहिर ल्याउन सके मात्र नागरिकको राज्यप्रतिको विश्वास बलियो बन्ने र न्यायको अनुभूति हुने घिसिङको भनाइ थियो।


















