२४ जेठ,काठमाडौ । मध्यपूर्वमा जारी तनावका बीच अमेरिका र ईरानबीच पुनः सैन्य भिडन्त चर्किएको छ। अमेरिकी सेनाले हर्मुज जलडमरूमध्यतर्फ प्रक्षेपित गरिएका ईरानी ड्रोनहरूलाई खसालेपछि ईरानका केही सैन्य निगरानी तथा राडार केन्द्रहरूमा हवाई प्रहार गरेको जनाएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार हर्मुज जलडमरूमध्य नजिक रहेका गोरुक र केश्म द्वीपस्थित निगरानी संरचनाहरूलाई निशाना बनाइएको हो। अमेरिका पक्षले ती ड्रोनहरू समुद्री यातायातका लागि खतरा बनेको दाबी गरेको छ।
यता ईरानले अमेरिकी कारबाहीलाई युद्धविराम उल्लंघन भएको आरोप लगाउँदै कडा प्रतिक्रिया जनाएको छ। ईरानी अधिकारीहरूले अमेरिकाले क्षेत्रीय तनाव घटाउने कुनै इच्छा नदेखाएको टिप्पणी गरेका छन्।
पछिल्ला घटनाक्रमसँगै विश्वकै महत्वपूर्ण तेल तथा व्यापारिक मार्ग मानिने हर्मुज जलडमरूमध्यको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। अन्तर्राष्ट्रिय विश्लेषकहरूले यो क्षेत्रीय तनाव अझ बढेमा विश्व ऊर्जा बजार, समुद्री व्यापार तथा मध्यपूर्वको समग्र सुरक्षामा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन्।
कूटनीतिक प्रयास जारी रहे पनि दुवै पक्षबीचको अविश्वास गहिरिँदै जाँदा युद्धको जोखिम पुनः बढेको आकलन गरिएको छ।


















