२६ चैत, काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई सर्वोच्च अदालतको आदेशअनुसार हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार दुवैलाई आजै बिहीबार छाड्ने तयारी गरिएको हो।
भट्टराईले सरकारी वकिल कार्यालयसँग आवश्यक सहमति भइसकेको जानकारी दिँदै अब उनीहरूलाई नजिकको व्यक्तिको जिम्मामा छाडिने बताए।
दुवैलाई भदौ २३ गते भएको घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको थियो। प्रहरीले सुरुमा पाँच दिन, त्यसपछि थप दुई दिन र पुनः पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको थियो।
तर सर्वोच्च अदालतले चैत २३ गते जारी परमादेशमार्फत तेस्रो पटक म्याद नथप्न निर्देशन दिएको थियो। अदालतले अनुसन्धानका नाममा अनावश्यक रूपमा हिरासत लम्ब्याउनु नहुने स्पष्ट पारेको थियो।
अदालतले हिरासत नथप्न चार आधार प्रस्तुत गरेको छ। जसअनुसार काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नजिकको व्यक्तिको जिम्मामा राख्न सकिने अवस्था रहेको, दुवै जना मातापिताको निधनपछि शोकमा रहेको, पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था जटिल भई त्रिवि शिक्षण अस्पताल मा उपचार भइरहेको, र सरकारी वकिलमार्फत बयान लिइसकिएको उल्लेख गरिएको छ।
चैत १४ गते भक्तपुरबाट पक्राउ परेका ओली र लेखकमाथि हाल अनुसन्धान जारी रहे पनि सर्वोच्च अदालतको आदेशपछि उनीहरूलाई हाजिर जमानीमा रिहा गर्न लागिएको प्रहरीले जनाएको छ।



















