१० चैत , जनकपुरधाम । आस्था, श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्व अन्तर्गत मंगलबार मुख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरिएको छ।
चार दिनसम्म चल्ने यस महान पर्वको तेस्रो दिन जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा भक्तजनहरू नदी, पोखरी तथा विभिन्न जलाशय किनारमा भेला भई विधिपूर्वक पूजा–अर्चनामा सहभागी भएका छन्।
छठ पर्वको अवसरमा जनकपुरधामका गंगासागर, धनुषसागर लगायतका जलाशयहरू आकर्षक रूपमा सजाइएका थिए। व्रतालुहरू परम्परागत पहिरनमा सजिएर परिवारसहित घाटमा पुगेका थिए।
उनीहरूले अस्ताउँदै गरेको सूर्यलाई दूध, जल, फलफूल तथा प्रसाद अर्पण गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। छठ पर्वमा सफा–सुग्घर वातावरण, शुद्धता र नियमको विशेष महत्व रहने भएकाले व्रतालुहरूले कडाइका साथ व्रत बस्ने परम्परा रहँदै आएको छ।
अब पर्वको अन्तिम दिन बुधबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ विधिवत रूपमा सम्पन्न हुनेछ।
पछिल्ला वर्षहरूमा चैती छठ मनाउनेहरूको संख्या पनि बढ्दै गएको देखिएको छ। आइतबारदेखि सुरु भएको पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’ सम्पन्न भइसकेको छ भने तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिनेछ।



















