माघ २४, काठमाडौ । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेसँगै देशभरका जिल्ला जिल्लामा मतपेटिका र निर्वाचन सामग्री पठाउने कार्य तीव्र पारिएको छ। निर्वाचन आयोगले सुरक्षा निकायको समन्वयमा मतदानका लागि आवश्यक सामग्री सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत स्थानीय तहसम्म पुर्याउन थालेको जनाएको छ।
आयोगका अनुसार मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मतदाता नामावली, मसी, सुरक्षा सीललगायत सामग्री चरणबद्ध रूपमा ढुवानी भइरहेको छ। दुर्गम तथा हिमाली जिल्लामा हेलिकप्टरमार्फत सामग्री पठाउने व्यवस्था गरिएको छ भने सुगम क्षेत्रमा सवारी साधन प्रयोग गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। मतदान केन्द्रको संवेदनशीलता मूल्यांकनका आधारमा सुरक्षा जनशक्ति परिचालन गरिएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालयहरूले पनि मतदान केन्द्रको अनुगमन, कर्मचारी खटाउने, तालिम दिने र आवश्यक पूर्वतयारी तीव्र बनाएका छन्। निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतदानको दिन आवश्यक सामग्री समयमै पुग्ने विश्वास व्यक्त गरेको छ।
















