नगरेको सजाय भोगेँ, अब समाधान दिन्छु” — सहकारी पीडितप्रति रवि लामिछानेको प्रतिबद्धता

२२ माघ,चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी पीडितका समस्या भाषणबाट होइन, ठोस समाधानमार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार चितवन पुगेका लामिछानेले चुनावी प्रचारका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सहकारी प्रकरणमा आफू निरन्तर बोल्दै आएको र अब परिणाम देखाउने समय आएको बताए। “जवाफ धेरै दिइयो, नगरेको गल्तीको सजाय पनि भोगियो, अब समाधान दिन्छु,” उनले भने।
“सहकारी पीडितले तपाईंलाई किन भोट दिने?” भन्ने प्रश्नमा लामिछानेले सहकारी मुद्दामा निरन्तर आवाज उठाउने व्यक्ति आफू रहेको दाबी गरे। उनले पीडितहरूले अब केवल आश्वासन नभई कानुनी, संरचनागत र व्यवहारिक समाधान पाउने विश्वास व्यक्त गरे।
लामिछानेले सहकारी पीडितको पीडा आफूले नजिकबाट बुझेको उल्लेख गर्दै उनीहरूको न्यायका लागि दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाए। सहकारी समस्या राजनीतिक आरोप–प्रत्यारोपको विषय बनाइरहनुभन्दा संस्थागत सुधारमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिए।
खुट्टामा लागेको चोटको उपचारपछि लामिछाने पहिलो पटक जिल्ला पुगेका हुन्। बिहीबार दिउँसो बुद्ध एयरमार्फत भरतपुर पुगेका उनले लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गरेका थिए। जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा खुट्टामा चोट लागेर संक्रमण देखिएपछि उनी केही समय त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।
स्वास्थ्यमा सुधार आएसँगै लामिछाने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा सक्रिय भएका छन्। उनी चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् र सहकारी पीडितको मुद्दालाई चुनावी एजेन्डाको प्राथमिकतामा राख्दै अभियान तीव्र बनाउने संकेत दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more