निर्वाचन एकै दिन र तोकिएकै मितिमा हुन्छ: प्रधानमन्त्री कार्की

२२ माघ, काठमाडौ ।  प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन एकै दिन र तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट घोषणा गरेकी छन्।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुई चरणमा चुनाव हुने भन्ने चर्चालाई अस्वीकार गरिन्। “मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो। अब जनताले छाप लगाउन मात्रै बाँकी छ। निश्चिन्त मान्नुस्, चुनाव एकै दिन हुन्छ, दुई चोटि कहीँ हुनेवाला छैन,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। मतपत्र छपाइ, सुरक्षा व्यवस्था र अन्य प्रशासनिक तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै उनले सरकारले तोकिएको कार्यतालिकाअनुसार नै प्रक्रिया अघि बढाएको बताइन्।
उनले मौसमले पनि निर्वाचनमा अवरोध नपुर्‍याउने विश्वास व्यक्त गर्दै कुनै पनि बहानामा निर्वाचन सार्ने वा दुई चरणमा विभाजन गर्ने अवस्था नरहेको स्पष्ट पारिन्। सरकार निर्वाचित प्रतिनिधिलाई समयमै सत्ता हस्तान्तरण गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
निर्वाचनको मिति र सम्भावित दुई चरणको चर्चालाई लिएर राजनीतिक वृत्तमा उठिरहेका आशंकाबीच प्रधानमन्त्रीको यो अभिव्यक्तिले सरकारको आधिकारिक धारणा प्रस्ट पारेको छ। सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more