२२ माघ,राजस्थान। श्रीगंगानगर (राजस्थान), भारतको राजस्थान राज्यअन्तर्गत श्रीगंगानगर जिल्लाबाट वैवाहिक सम्बन्धलाई नै स्तब्ध बनाउने एक सनसनीपूर्ण हत्या प्रकरण सार्वजनिक भएको छ। विवाह भएको तीन महिनामै श्रीमतीले आफ्नै श्रीमानको हत्या गराएको आरोपमा पक्राउ परेकी छन्। प्रहरीले घटनालाई सुरुमा सडक दुर्घटना देखाउन खोजिएको साजिशपूर्ण हत्या भएको निष्कर्ष निकालेको छ।
घटना ३० जनवरी साँझ रावला थाना क्षेत्रको अनूपगढ मार्गमा भएको हो। प्रहरीका अनुसार आशीष नामका युवक आफ्नी पत्नी अञ्जूसँग साँझ हिँड्न निस्किएका बेला एउटा सवारी साधनले ठक्कर दिएको सूचना प्राप्त भएको थियो। घटनामा आशीषको घटनास्थलमै मृत्यु भयो भने अञ्जू बेहोस अवस्थामा फेला परेकी थिइन्। उनका सुनका गहना समेत लुटिएको दाबी गरिएको थियो।
प्रारम्भिक रूपमा ‘हिट एन्ड रन’ जस्तो देखिएको घटना अनुसन्धानका क्रममा मोडिएको प्रहरीले जनाएको छ। श्रीगंगानगरकी प्रहरी अधीक्षक अमृता दुहानका अनुसार घटनास्थलको सूक्ष्म अध्ययन तथा फरेन्सिक साइन्स ल्याब (एफएसएल) टोलीको सहयोगमा गरिएको अनुसन्धानमा मृतकको शरीरमा देखिएका चोटपटक र श्रीमतीको बयानबीच असंगति भेटिएको थियो।
प्रहरी अनुसन्धानबाट अञ्जू आफ्ना प्रेमी सञ्जूसँग नियमित सम्पर्कमा रहेको खुलेको छ। फोन रेकर्डका आधारमा घटनाको दिन अञ्जूले योजनाबद्ध रूपमा श्रीमानलाई सुनसान सडकतर्फ लगेको र त्यहाँ सञ्जू तथा उसका दुई सहयोगी—रॉकी (रोहित) र बादल (सिद्धार्थ)—पहिल्यै लुकेर बसेको पाइएको छ।
प्रहरीका अनुसार तीनै जनाले मिलेर आशीषमाथि आक्रमण गरी घाँटी थिचेर हत्या गरेका थिए। त्यसपछि घटनालाई सडक दुर्घटना जस्तो देखाउन प्रयास गरिएको थियो। अञ्जूले लुटपाट भएको आभास दिलाउन आफ्नै मोबाइल र झुम्का आरोपितलाई दिएको र आफू बेहोस भएको नाटक गरेको आरोप छ। तर मृतकको शरीरमा देखिएका चोटका प्रकृतिले दुर्घटना नभई योजनाबद्ध हत्या भएको संकेत दिएको प्रहरीले जनाएको छ।
प्रहरीले श्रीमती अञ्जू, उनका प्रेमी सञ्जू र अन्य दुई सहयोगीलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। घटनालाई केही भारतीय सञ्चारमाध्यमले ‘हनीमून मर्डर’ को संज्ञा दिएका छन्। प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
















