बंगलादेशमा आमनिर्वाचनअघि हिंसाको आशंका बढ्दो, अमेरिकी दूतावासद्वारा सुरक्षा चेतावनी जारी

१७ माघ , ढाक । बंगलादेशमा आगामी १२ फेब्रुअरीमा हुने १३औँ संसदीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। तर निर्वाचन नजिकिँदै जाँदा राजनीतिक हिंसाको आशंका पनि बढ्दै गएको छ। यही सन्दर्भमा ढाकास्थित अमेरिकी दूतावासले बंगलादेशमा रहेका आफ्ना नागरिकका लागि सुरक्षा चेतावनी जारी गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
अमेरिकी दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत जारी सूचनामा चुनावी अवधिमा राजनीतिक हिंसा जुनसुकै स्वरूपमा देखिन सक्ने जनाएको छ। शान्तिपूर्ण र्‍यालीहरू समेत अचानक हिंसात्मक हुन सक्ने र चरमपन्थी आक्रमणको जोखिम कायम रहन सक्ने चेतावनी दिइएको छ। दूतावासले आफ्ना नागरिकलाई भीडभाडयुक्त स्थानबाट टाढा रहन, स्थानीय सञ्चारमाध्यमका समाचारहरू नियमित अनुगमन गर्न तथा मोबाइल फोन चार्ज राख्न सुझाव दिएको छ।
यसैबीच शुक्रबार बंगलादेशका लागि अमेरिकी राजदूत ब्रेन्ट टी. क्रिस्टेन्सनले जमात–ए–इस्लामीका प्रमुख शफीकुर रहमानसँग भेटवार्ता गरी आगामी निर्वाचनका विषयमा छलफल गरेका छन्। उक्त भेटलाई चुनावी परिप्रेक्ष्यमा अर्थपूर्ण रूपमा हेरिएको छ।
उल्लेखनीय छ कि ३०० संसदीय सिटका लागि हुने निर्वाचनमा ५० भन्दा बढी राजनीतिक दलका करिब २००० उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन अनुगमनका लागि १६ देशका ५७ अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आमन्त्रण गरिएको छ। साथै, जनमत संग्रहको तयारीसमेत भइरहेको बताइएको छ।
प्रहरीका अनुसार, २२ जनवरीदेखि सुरु भएको चुनावी प्रचार–प्रसार अवधिमा भएका हिंसात्मक घटनामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ। बढ्दो तनावबीच सुरक्षा व्यवस्था कडा पारिएको छ भने अन्तर्राष्ट्रिय समुदायको ध्यानसमेत यस निर्वाचन प्रक्रियातर्फ केन्द्रित भएको छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more