माघ १७, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन शाहको मण्डिखाटारस्थित निवासमा चोरी भएको छ। शाह र उनकी पत्नी घरबाहिर रहेका बेला अज्ञात समूहले घरमा प्रवेश गरी चोरी गरेको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ शाहका मामा–ससुराका छोरा नियमित रूपमा घरको रेखदेख गर्न जाँदा घटना बाहिर आएको हो। उनी घरमा बत्ती बाल्ने–निभाउने तथा बिरुवामा पानी हाल्ने काम गर्दै आएका थिए। साँझ घर पुगेपछि मूल ढोका फोडिएको र भित्रका सामान तितरबितर अवस्थामा देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका दुईदेखि तीन वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन तथा बाथरुम र भान्सामा जडान गरिएका धाराका टुटीहरू चोरेर लगेका छन्। अन्य सामान पनि चोरी भएको हो वा होइन भन्नेबारे यकिन हुन बाँकी रहेको र विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार एक इन्स्पेक्टरको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी विस्तृत छानबिन भइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेको अनुमान गरिएको छ। सिसीटिभी प्रणाली नै लक्षित गरी क्यामेरा र डीभीआर मेसिन चोरेर लगिएको आधारमा यो घटना पेशेवर समूहबाट भएको हुनसक्ने प्रहरीको निष्कर्ष छ। घटना गत १४ माघदेखि शुक्रबार साँझबीच कुनै समयमा भएको हुनसक्ने अनुमान गरिएको छ।
हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने शंकास्पद व्यक्तिको खोजी, प्राविधिक विश्लेषण तथा आसपासका सिसीटिभी फुटेजको अध्ययनलाई तीव्र बनाइएको जनाएको छ। राजधानीमै उच्च प्रोफाइल नेताको निवासमा भएको यस घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

















