पुस २७, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र कुनै ‘बा’ नभएको र कसैले नबोल भनेकै भरमा बोल्न छोड्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई स्वतन्त्र विचार र प्रश्न गर्ने संस्कृतिको पार्टीका रूपमा व्याख्या गरे।
थापाले भने, “कांग्रेस दास र लासहरूको पार्टी होइन। कांग्रेस जिउँदा मान्छेको पार्टी हो।” पार्टीभित्र कुनै प्रश्न नमरेको उल्लेख गर्दै उनले थपे, “जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा पनि प्रश्न गर्न सक्दैन।”
उनले पार्टीभित्र कोही मालिक र कोही दास नभएको भन्दै सबै सदस्य बराबर भएको धारणा राखे। “तल बस्ने सदस्यलाई माथि बस्नेले निहुरिएर सलाम ठोक्नुपर्छ,” भन्दै उनले कांग्रेसभित्रको बहस र संघर्ष सत्ताका लागि नभई विचार र मूल्यका लागि भएको बताए।
महामन्त्री थापाका अनुसार विशेष महाधिवेशन सत्ताको संघर्षका कारण होइन, देश र जनतालाई बुझ्ने विषयमा देखिएको मतभेदका कारण भएको हो। यही कारणले केही सदस्य महाधिवेशनमा सहभागी भएका र केही नआएका उनले बताए। कांग्रेसमा कुनै तह नभएको, सबैको हक समान भएको र तल्लो तहको सदस्यको अधिकार सबैभन्दा बढी हुने उनको भनाइ थियो।
पार्टी ठीकसँग नचलेको, चुनाव एउटा दलसँग मिलेर लड्ने र अर्कोसँग मिलेर सरकार बनाउने, अनि सरकारबाट बाहिरिएपछि सबै सकिएजस्तो व्यवहार गर्ने प्रवृत्तिमाथि पार्टीभित्रै प्रश्न उठेको थापाले बताए। विशेष महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई थाहा नभएको उल्लेख गर्दै उनले भने, “यो सदस्यहरूले मागेर भएको विशेष महाधिवेशन हो। सदस्यहरूले नीति पनि बदल्ने र नेतृत्व पनि बदल्ने माग गरेका छन्। त्यो भेलाले जे निर्णय गर्छ, मैले मान्नुपर्छ।”
उनले पार्टीभित्रको संघर्ष सत्ताको नभई मूल्य र मान्यताको संघर्ष भएको दोहोर्याए। भदौ २३ र २४ गते जेन–जी मात्र नभई देशका धेरै नागरिक सडकमा उत्रिएर आक्रोश र असन्तुष्टि व्यक्त गरेको स्मरण गराउँदै उनले सरकार र संसदप्रति नागरिकको असन्तोष बढेको बताए।
थापाका अनुसार जनता व्यक्तिसँग होइन, कुशासन र भ्रष्टाचार देखेर रिसाएका हुन्। “नेपो बेबीको शासन देखेर पनि जनता रिसाएका छन्,” उनले भने। यही जनभावनालाई बुझ्ने र सम्बोधन गर्ने उद्देश्यले विशेष महाधिवेशन आयोजना गरिएको उनको दाबी छ।
















