NRNA NCC USA का दुई विज्ञप्तिले भ्रम सिर्जना गरेकोमा संघद्वारा क्षमायाचना

पुस २५, काठमाडौ ।  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC USA) का तर्फबाट हालै सार्वजनिक भएका दुई फरक विज्ञप्तिका कारण माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण तथा कार्यक्रमसम्बन्धी विषयमा सञ्चार माध्यम र नेपाली समुदायमा भ्रम तथा अन्योल सिर्जना भएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
NRNA NCC USA ले जारी गरेको विज्ञप्तिमा यस घटनाबाट माननीय मन्त्री, सम्बन्धित सरकारी निकाय, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको कुनै पनि प्रकारको असहजता, भ्रम वा क्षतिप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा विकास उप्रेतीको अध्यक्षतामा गठित NRNA NCC USA ले औपचारिक रूपमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको स्पष्ट पारिएको छ। संघभित्र विगतमा देखिएका आपसी असमझदारी अन्त्य गर्दै केन्द्रमा बृहत् एकताको सम्झौता सम्पन्न भइसकेको र राष्ट्रिय समन्वय परिषद्हरू पनि एकताको प्रक्रियामा सहभागी भइरहेको जानकारीसमेत दिइएको छ।

तर विकास उप्रेतीको अध्यक्षतामा गठित NRNA NCC USA र सत्येन्द्र शाहको अध्यक्षतामा गठित अर्को NRNA NCC USA बीच आपसी समन्वयको अभावका कारण पछिल्लो अवस्था सिर्जना भएको भन्दै त्यसप्रति पनि संघले क्षमायाचना गरेको छ।
गैरआवासीय नेपाली संघले नेपाली डायस्पोराको प्रतिनिधि संस्थाका रूपमा नेपालको बदलिँदो राजनीतिक–सामाजिक अवस्था तथा पछिल्लो Gen-Z आन्दोलनपछिको राष्ट्रिय परिस्थिति र सम्भावनाको सन्दर्भमा नेपाल सरकारमा Gen-Z को प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिरहेका मन्त्री गुप्तालाई नेपाली समुदायसँग प्रत्यक्ष अन्तरक्रिया तथा विचार–विमर्शका लागि औपचारिक रूपमा आमन्त्रण गरिएको जनाएको छ।

“Role of NRNA Youth in the Development of Nepal Post Gen-Z Revolution” शीर्षकमा आयोजना गरिन लागेको कार्यक्रममा विदेशमा रहेका नेपाली युवालाई नेपालको विकास प्रक्रियासँग अझ सशक्त रूपमा जोड्ने उद्देश्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
संघले आगामी दिनमा यस्ता अवस्था पुनः नदोहोरिन सुनिश्चित गर्न आन्तरिक समन्वय र सूचना प्रवाह प्रणालीलाई अझ व्यवस्थित तथा सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरेको छ। विज्ञप्तिमा संघका अध्यक्ष डा. बद्री केसी र अध्यक्ष महेश कुमार श्रेष्ठको हस्ताक्षर रहेको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more