पुस २६, काठमाडौ । एकता सम्झौता भएको दुई साता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङबीचको सम्बन्ध लगभग टुट्ने अवस्थामा पुगेको छ। अन्तिम प्रयासस्वरूप पार्टी सभापति रवि लामिछानेसँग भएको छलफलसमेत निष्कर्षविहीन भएपछि कुलमान रास्वपाबाट बाहिरिने तयारीमा पुगेका हुन्।
कुलमान निकट स्रोतका अनुसार रास्वपासँग साझा राजनीतिक मार्ग नदेखिएको निष्कर्ष निकाल्दै उनले आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ अघि बढाउने निर्णय गरेका छन्। अब आगामी निर्वाचनमा उनी प्रत्यक्षतर्फ ‘उज्यालो नेपाल पार्टी’बाट प्रतिस्पर्धा गर्ने र समानुपातिकतर्फका लागि अर्कै दलसँग सहकार्य गर्ने रणनीतिमा छन्।
रास्वपासँगको एकता जोगाउन ‘ठूलो राजनीतिक सम्झौता’ आवश्यक पर्ने भए पनि त्यसको सम्भावना न्यून देखिएको कुलमान निकट नेताहरूको भनाइ छ। उनीहरूका अनुसार नीति, नेतृत्व संरचना र भावी रणनीतिमा सहमति नजुट्दा सम्बन्ध थप जटिल बन्दै गएको हो।
यस विषयमा रास्वपाको औपचारिक प्रतिक्रिया आउन बाँकी छ। तर पार्टीभित्रैबाट पनि पछिल्ला दिनहरूमा असमझदारी बढेको संकेत देखिँदै आएको थियो।


















