पुस १९, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ अन्तर्गत जमुनिया नहर सडकखण्डमा गएराति करिब १२ बजे सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
भारतीय नम्बर प्लेट BRO 1HD 2686 रहेको गाडी दुर्घटनामा पर्दा उक्त मानवीय क्षति भएको हो। दुर्घटनापछि स्थानीय बासिन्दाहरूले तत्काल घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेका थिए।
घाइतेहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको भए पनि उनीहरूको अवस्था तथा पहिचानबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको र थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाइएको छ।
















