केन्द्रीय समितिको औपचारिक निर्णयबाहेक अन्य निर्णय मान्य हुँदैन: ढुंगाना

पुस १९, काठमाडौ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाले पार्टी महाधिवेशनसम्बन्धी केन्द्रीय समितिले गरेका औपचारिक निर्णयबाहेक अन्य कुनै पनि निर्णय मान्य नहुने स्पष्ट पारेका छन्।
ढुंगानाले पार्टी विधानको उल्लंघन गर्ने जो–कोही भए पनि अनुशासनको दायरामा ल्याइने र आवश्यक कारबाही गर्न विभाग नहिच्किचाउने बताए। उनले महाधिवेशनका विषयमा पार्टीभित्र विभिन्न गतिविधि र चर्चाहरू देखिए पनि केन्द्रीय समितिबाट औपचारिक रूपमा निर्णय नभएसम्म ती मान्य नहुने स्पष्ट गरे।
विशेष महाधिवेशनको नाममा हल बुक गरिएकोलगायतका गतिविधिबारे सञ्चारमाध्यम र सार्वजनिक चर्चामा आए पनि त्यससम्बन्धी कुनै औपचारिक उजुरी अनुशासन विभागमा नपरेको ढुंगानाको भनाइ छ। “औपचारिक उजुरी नआएसम्म कारबाही प्रक्रिया अघि बढाउन सकिँदैन,” उनले भने।
उनका अनुसार अनुशासन विभाग तथ्य र विधानका आधारमा मात्रै निर्णय गर्ने निकाय भएकाले व्यक्तिगत आरोप, अनुमान वा अनौपचारिक सूचनाका आधारमा कारबाही अघि बढाइँदैन। तर, पार्टी विधान विपरीत गतिविधि भएको ठोस प्रमाणसहित उजुरी परेमा आवश्यक प्रक्रिया अघि बढाइने उनले दोहोर्‍याए।
ढुंगानाले पार्टीभित्र अनुशासन, विधि र संस्थागत निर्णयको सम्मान अनिवार्य रहेको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्तालाई केन्द्रीय समितिको निर्णयको पालना गर्न आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more