असोज २२, बिरगंज । वीरगन्ज बसपार्कस्थित साह प्यारेडाइज होटेलको एक कोठामा भारतीय नागरिक बुवा र छोरा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार उनीहरू दुवैजना भारतको बिहार राज्यका बासिन्दा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू केही दिनअघि मात्र वीरगन्ज आएका थिए र साह प्यारेडाइज होटलमा बसोबास गरिरहेका थिए।
होटलका कर्मचारीले बुधबार बिहान कोठाबाट लामो समयसम्म कुनै आवाज नआएपछि ढोका ढक्ढकाएका थिए। प्रतिक्रिया नपाएपछि प्रहरीले बोलाई ढोका फोरेर प्रवेश गर्दा दुबै जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
घटनाको वास्तविक कारण अझै स्पष्ट भएको छैन। प्रहरीले घटनास्थललाई सिलबन्दी गरी आवश्यक प्रमाण संकलन गरेको र शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार, प्रारम्भिक जाँचमा कुनै पनि प्रकारको हिँसात्मक गतिविधिको तत्काल प्रमाण नदेखिएको भए पनि विष सेवन वा स्वास्थ्य सम्बन्धी कारणका कोणबाट अनुसन्धान अघि बढाइएको छ।यसबीचमा भारतस्थित सम्बन्धित परिवारलाई घटनाबारे जानकारी दिइएको र नेपाल–भारत दुवै देशका सुरक्षातन्त्रबीच समन्वय गरेर विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
–
















