असोज २२, काठमाडौ । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र देखिएको असन्तोष र दबाबका कारण पार्टी सभापति शेरबहादुर देउवा सभापति पदबाट सम्मानजनक राजीनामाको तयारीमा रहेको स्रोतले जनाएको छ।
भदौ २४ गते आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा पछिल्ला दिनहरूमा ४० प्रतिशत केन्द्रीय सदस्यहरूको हस्ताक्षरका साथ आएको दबाबपछि आवधिक महाधिवेशनको तयारीका लागि आन्तरिक परामर्शमा जुटेका छन्।
पार्टीका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा पनि यस विषयमा सकारात्मक देखिएका छन्। उनीहरूले पार्टीभित्र नयाँ नेतृत्व र कार्यशैलीको आवश्यकता औंल्याउँदै देउवाको निर्णयलाई ‘राजनीतिक परिपक्वताको संकेत’का रूपमा व्याख्या गरेका छन्।
स्रोतका अनुसार देउवाले आगामी महाधिवेशनपछि पार्टीको नेतृत्वमा पुनः दाबी नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीको एकता, युवापुस्ताको नेतृत्व उदय र आगामी निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने मनसाय राखेका छन्।
नेपाली कांग्रेसभित्र हालसम्म औपचारिक घोषणा नभए पनि देउवाको तयारीलाई धेरैले ‘सम्मानजनक अवतरण’का रूपमा लिएका छन्। पार्टीभित्रका वरिष्ठ नेताहरूले देउवाको योगदानको प्रशंसा गर्दै उनको निर्णयले संगठनभित्र नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरेका छन्।पार्टीभित्र अब निकट भविष्यमा महाधिवेशनको कार्यतालिका तय गरिने र त्यसको तयारीका लागि कार्यदल गठन हुने तयारी भइरहेको जनाइएको छ।
















