नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

काठमाडौं, भदौ २६ –अन्तरिम सरकार गठनको तयारीसँगै नयाँ नेतृत्व चयनका लागि आज जंगीअड्डामा निर्णायक छलफल हुने भएको छ। नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानन्यायाधीश अशोकराज सिग्देल र जेनजी युवा प्रतिनिधिबीच बिहानैदेखि वार्ता सुरु भएको छ।

जेनजी युवाहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम सर्वसम्मत रूपमा प्रस्ताव गरिसकेका छन्। आजको छलफलले यसलाई औपचारिकता दिने अपेक्षा गरिएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतले “यो छलफलबाट देश निकासतर्फ अघि बढ्ने विश्वास गरिएको” बताए।

गत केही दिनदेखि भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध आन्दोलनरत युवामध्ये १९ जनाले ज्यान गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। सो घटनापछि ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो।

प्रस्तावित प्रधानमन्त्री कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समर्थन जनाइसकेका छन्। साम्पाङले “कार्कीको नेतृत्वमा देशले निकास पाउने विश्वास” व्यक्त गरेका छन् भने व्यवसायी दुर्गा प्रसाईंले “जो कोही नेतृत्वमा आए पनि राष्ट्रिय हितमा स्वीकार गर्ने” बताएका छन्।

जेनजी युवाहरुको भर्चुअल मतदानमा समेत कार्कीलाई नै सबैभन्दा बढी समर्थन देखिएको थियो। कार्की स्वयंले पनि जेनजीको प्रस्तावलाई सकारात्मक रूपमा स्वीकार्दै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको स्पष्ट पारिसकेकी छन्।

 

 

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more