श्रावण ३१, जनकपुरधाम। –हिन्दूहरुको महान पर्व श्रीकृष्ण जन्माष्टमी आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। भाद्र कृष्ण अष्टमीका दिन भगवान् विष्णुको आठौँ अवतारका रूपमा मथुरामा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। यही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष हिन्दू समुदायले विशेष पूजाआजा, व्रत र भजन–कीर्तनसहित श्रद्धापूर्वक यो पर्व मनाउँदै आएको छ।
जनकपुरधाममा यस वर्ष पनि प्रत्येक वर्षझैँ कृष्ण मन्दिर, स्टेशन क्षेत्रमा र कवर्ड हलमा विशेष कार्यक्रमको आयोजना गर्दै हर्षोल्लासका साथ पर्व मनाइँदैछ। बिहानैदेखि ती धार्मिक स्थलमा भक्तजनहरूको भीड लागेको छ। जानकी मन्दिर परिसर, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर लगायतका अन्य वैष्णव मन्दिरहरूमा समेत विशेष पूजाआजा, प्रवचन र सांस्कृतिक कार्यक्रम भइरहेका छन्।
कृष्ण जन्माष्टमीका दिन श्रद्धालुहरूले उपवास गर्ने, फलाहार ग्रहण गर्ने र दिनभर भजन–कीर्तनमा सहभागिता जनाउने गर्छन्। मध्यरातमा कृष्ण जन्म भएको विश्वास गरिएकाले सो समयमा विशेष पूजा गरिन्छ। भजन–कीर्तनसहित कृष्णको नामस्मरण, गीता र श्रीमद्भागवतको वाचन तथा विष्णु सहस्रनामको पाठ गर्ने परम्परा आज पनि उत्तिकै बलियो रूपमा कायम छ।भक्तजनहरूले दही, मक्खन, मिस्री, फलफूल अर्पण गरेर पूजा गर्ने परम्परा रहेको छ। यस दिन विशेषगरी बालबालिकालाई “ललना” वा “बालकृष्ण” को रूप दिएर झाँकी सजाउने प्रचलन समेत छ।
धार्मिक ग्रन्थका अनुसार भगवान् श्रीकृष्णले महाभारतकालीन युद्धका क्रममा अर्जुनलाई धर्म, सत्य र कर्मको गहिरो उपदेश दिएका थिए, जसलाई आज ‘श्रीमद्भगवद्गीता’ नामले चिनिन्छ। गीता मानव जीवनलाई सत्य, धर्म र न्यायको बाटोमा अघि बढ्न मार्गदर्शन गर्ने महत्वपूर्ण ग्रन्थ मानिन्छ। कृष्णले “कर्मयोग”, “भक्तियोग” र “ज्ञानयोग” मार्फत समाजलाई सत्य र न्यायको बाटो देखाएका थिए। आजको दिनले अधर्मको अन्त्य र धर्मस्थापनाको सन्देश दिन्छ। भौतिकताको युगमा पनि गीता र कृष्ण दर्शन उत्तिकै सान्दर्भिक रहेको उनीहरूको भनाइ छ।
कृष्ण जन्माष्टमी केवल धार्मिक मात्र नभई सांस्कृतिक पर्व पनि हो। आजका दिन विभिन्न विद्यालय, सङ्गठन र स्थानीय स्तरमा नाटक, झाँकी तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने प्रचलन छ। सामाजिक सन्देश दिने उद्देश्यले बालकृष्णको रूप सजाउने, भजन प्रतियोगिता गर्ने र गीत–नृत्य प्रस्तुत गर्ने गतिविधिहरूले समुदायमा एकता र उमंग थप्ने गरेका छन्।यसरी देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै गरिएको कृष्ण जन्माष्टमीले सत्य, धर्म र न्यायको पक्षमा उभिन र अधर्मलाई अन्त्य गर्न प्रेरणा दिने विश्वास गरिन्छ।
















