प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्‍घाटन

श्रावण ३० , जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन गरेका छन्। समारोहमा उनले भवनको अवलोकन गर्दै निर्माण कार्यमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरे।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयमै निर्माण सम्पन्न गर्न मधेश प्रदेश सरकार तथा अन्य योगदानकर्ताहरूको सराहना गर्दै नयाँ भवनले सेवाग्राहीलाई छिटो, छरितो र व्यवस्थित सेवा दिन मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले शान्ति–सुव्यवस्था कायम राख्न, अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै सबै सरोकारवाला निकायहरूलाई नयाँ सोच र संकल्पका साथ अघि बढ्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा बढ्दै गएको लागूऔषध कारोबार, खुला सीमा दुरुपयोग गरी हुने आपराधिक क्रियाकलाप र अराजक गतिविधि नियन्त्रणमा प्रहरीलाई अझ सक्रिय रहन निर्देशन दिए। साथै, राजस्व चुहावट र तस्करी नियन्त्रणमा पनि उच्च सतर्कता अपनाउन उनले आह्वान गरे।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरीको अपराध नियन्त्रणमा सक्रिय भूमिकाको चर्चा गर्दै नयाँ भवनले नागरिकमा सेवा प्रवाह अझ सहज बनाउने बताए। प्रहरी महानिरीक्षक दिपक थापाले कानूनको अधिनमा रही शान्ति–सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धानमा कटिबद्ध रहने प्रतिबद्धता जनाउँदै सीमा अपराध, चोरी निकासी र लागूऔषध कारोबार नियन्त्रणमा दत्तचित्त भएर लाग्न निर्देशन दिए।

मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयको बजेटबाट २३ करोड ५४ लाख ८८ हजार ९११ रूपैयाँ ४१ पैसामा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन कार्यक्रममा प्रदेशका सभामुख, मन्त्रीहरू, संघीय तथा प्रदेश सांसदहरू, प्रमुख सचिव, प्रहरी उच्च अधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, संघसंस्था प्रतिनिधि, सञ्चारकर्मी तथा अतिथिहरूको सहभागिता रहेको थियो।

 

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply