श्रावण १२,काठमाडौं। जनता समाजवादी पार्टी नेपालको संसदीन दलको कार्यालय, सिंहदरबारमा आज संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मूल समितिको बैठक सम्पन्न भएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको उक्त बैठकले विभिन्न कार्यक्रमको समन्वय, अधिकार–पहिचानको विषयमा संवाद, र तराई–मधेशको जलवायु संकटबारे महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले यसअघि तय गरिएका मोर्चाका जिल्लागत आन्दोलन तथा जनसंपर्क कार्यक्रमहरूको समन्वय निम्नानुसार पार्टीहरूले गर्ने निर्णय गरेको छ।
साउन १८ – काठमाडौं: संयुक्त
साउन २१ – भैरहवा: नाउपा
साउन २३ – नेपालगञ्ज
साउन २५ – कैलाली: नाउपा
भदौ १६ – विराटनगर: जसपा नेपाल
भदौ १८ – राजविराज: राष्ट्रिय मुक्ति पार्टी नेपाल
भदौ २० – जनकपुर: तमलोपा
भदौ २२ – वीरगञ्ज: लोसपा नेपाल
बैठकले अधिकार र पहिचान पक्षधर दलहरूसँग सहकार्य गर्ने नीतिअनुसार ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ र ‘नेपाल जनमुक्ति पार्टी’सँग पहिलो चरणमा संवाद अघि बढाउने निर्णय पनि गरेको छ। मोर्चाले यसलाई समान राजनीतिक सोच र आन्दोलनात्मक गठबन्धन विस्तारतर्फको प्रयासको रूपमा लिएको छ।
त्यस्तै, बैठकमा हाल तराई–मधेशका जिल्लाहरूमा परेको भीषण खडेरीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै, धान रोप्न नपाएका किसानहरू संकटमा परेको ठहर गरिएको छ। मोर्चाले सरकारसँग कृषि ऋणमा छुट, डिपवेल बोर्डिङमार्फत सिँचाइ, खानेपानीको आपूर्ति, मलखाद, बीउबिजन र किटनासक औषधिको व्यवस्था तुरुन्त गर्न माग गरेको छ। साथै, दीर्घकालीन समाधानस्वरूप चुरे क्षेत्रको संरक्षण, जलासय निर्माण तथा पर्यावरणीय संकट न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ।
बैठकमा सुख्खाग्रस्त क्षेत्रका किसानलाई विशेष सहुलियतसहित अनुदान उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ।
संघीय लोकतान्त्रिक मोर्चाले आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै तराई–मधेशका नागरिकको जीवन, पहिचान र अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष जारी राख्ने स्पष्ट संकेत दिएको छ।
















