शिवराम झा ——धर्म मानव समाजको एक अत्यन्त संवेदनशील र गहिरो अनुभूतिगत पक्ष हो। विश्वास, आस्था, परम्परा र संस्कारले मानिसको जीवनयात्रालाई मार्गदर्शन गर्छन्। तर जब यही धर्म— जसको उद्देश्य आत्मकल्याण हो— आफ्नो आडमा कुनै व्यक्तिको धार्मिक स्वतन्त्रता हरण गर्न प्रयोग गरिन्छ, तब प्रश्न उठ्छ: के त्यो धर्मान्तरण हो कि आस्थाको अपहरण?आजको नेपाल, भारत, बङ्गलादेशदेखि अफ्रिका र युरोपसम्मको सन्दर्भमा ‘धर्मको आडमा धर्मान्तरण’ एउटा ज्वलन्त र संवेदनशील विषय बनेको छ।
धर्मान्तरण भन्नाले कुनै व्यक्तिले आफ्नो हालको धर्म त्यागेर अर्को धर्म अपनाउनु हो। धार्मिक स्वतन्त्रताको अधिकार अन्तर्गत हरेक व्यक्तिलाई आफ्नो आस्थाको आधारमा धर्म परिवर्तन गर्ने छुट संविधानले दिएको हुन्छ। तर जब त्यो परिवर्तन दबाब, लोभ, भ्रम, छल, आर्थिक प्रलोभन, वा सामाजिक उत्पीडनका कारण गरिन्छ— त्यो धार्मिक स्वतन्त्रता होइन, धार्मिक हिंसा हो।
आजको युगमा धर्मान्तरण सीधासपाट धर्म शिक्षा वा आध्यात्मिक आकर्षणको कारण हुँदै होइन। त्यसमा विकसित रणनीति र आर्थिक शक्तिको प्रयोग हुन्छ। मुख्य रूपमा निम्न प्रविधिहरू प्रयोग गरिन्छ:
धेरै संस्थाहरू अस्पताल, विद्यालय, बालगृह, वृद्धाश्रम, अनाथालय खोल्ने नाममा सेवा गर्छन् तर भित्रैभित्र धर्म परिवर्तनका गतिविधिहरू चलाउँछन्। ‘प्रेम’ र ‘दया’का नाममा ईश्वरको पहिचान फेरिन्छ।
बिपन्न र अशिक्षित वर्गलाई पैसा, जागिर, छात्रवृत्ति, विदेशी भ्रमण, युनिभर्सिटी स्कलरशिप जस्ता लोभ देखाइन्छ। यसले धर्मको मूल्यभन्दा भौतिक तृष्णा हाबी हुन्छ।

असहाय, पीडित र रोगीहरूलाई ‘यो दुःख तिम्रो धर्मको कारण हो’ भन्दै भावनात्मक रूपमा फसाइन्छ। यिनलाई नयाँ ईश्वरमा विश्वास गरे मात्र मुक्ति मिल्ने भनिन्छ।
कतिपय अवस्थामा धार्मिक रूपले योजनाबद्ध प्रेम सम्बन्ध बनाइन्छ र विवाहपछि धर्म परिवर्तन गर्न बाध्य गरिन्छ। हिन्दू केटीहरूलाई मुस्लिम वा इसाई बनाउने उद्देश्यले यस्तो कार्यक्रम संचालन हुन्छ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको कारणले सबै धर्मको स्वतन्त्रता सुनिश्चित गरिएको छ। तर पछिल्लो दशकमा नेपालको विभिन्न दुर्गम जिल्ला तथा तराइ मधेसका खासगरी चेपाङ, मगर, थारु, मुसहर, राजी, राउटे, र दलित समुदायमा व्यापक इसाई धर्मान्तरण देखिएको छ। विभिन्न जिल्लामा २०६२/६३ को जनआन्दोलनपछि NGO/INGO मार्फत इसाई धर्म विस्तार गरिएको छ।
एकै परिवारमा आस्थाको विभाजन हुँदा सामाजिक तानाव उत्पन्न हुन्छ। धर्मको नाममा बाबुआमाले छोराछोरीसँग नाता तोड्नुपर्ने स्थिति आउँछ।धर्म परिवर्तन गर्दा आफ्नो संस्कृति, भाषा, चाडपर्व, पहिचान गुमिन्छ। एक जना चेपाङ जब इसाई बन्छ, उसले दशैं, तिहार, माघे संक्रान्ती, देवीदेवताहरू त्याग्छ।धर्मान्तरण राजनीतिक एजेण्डाको रूपमा प्रयोग हुन्छ। यसले स्थानीय जनजीवनमा अस्थिरता ल्याउन सक्छ, विदेशी शक्तिको प्रभाव बढाउँछ।एकै गाउँमा दुई धर्मका मानिसबीच तनाव सिर्जना हुन्छ। कहिले काँही धार्मिक झडप पनि हुने गरेको छ।
यु.एस., कोरिया, युरोपेली संघ, अष्ट्रेलियाबाट करोडौं डलरको फण्ड नेपाल, भारत, श्रीलंका, बङ्गलादेश पठाइन्छ। यी संस्थाहरूले NGO को नाममा आफ्नो धर्म फैलाउँछन्।पाकिस्तान, कतार, साउदी अरब, यमन जस्ता देशहरूबाट मुस्लिम धर्म विस्तारका लागि सहयोग पठाइन्छ। हाल छाङुर बाबा काण्ड ले देखाएको नेपाल कनेक्सन ले यसलाइ थप उजागर गरिदिएको छ।
नेपालको संविधानले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गरे तापनि, कसैको धर्म परिवर्तन गराउन खोज्नेलाई सजाय दिने प्रावधान छ। नेपालको आपराधिक संहिताको दफा १५८ अनुसार जबरजस्ती धर्म परिवर्तन गराउनेलाई ५ वर्षसम्मको जेल सजाय हुनसक्छ।तर, यस्तो कानुनको कार्यान्वयन कमजोर छ। विदेशी दवाब, राजनीतिक संरक्षण र लुकेर हुने धर्मान्तरणका कारण कारबाही हुँदैन।
यसलाइ रोक्न : धार्मिक र सांस्कृतिक शिक्षालाई विद्यालयदेखि समुदायस्तरसम्म बलियो बनाउनुपर्छ। जनताले आफ्नो धर्मको ज्ञान लिएपछि सस्तो भ्रममा नफस्नेछन्। धर्मको आडमा गरिबीको दुरुपयोग नहोस् भन्नका लागि राज्यले विकास र रोजगारमा ध्यान दिनुपर्छ। धर्मको नाममा सेवा, अनुदान, छात्रवृत्तिजस्ता सहायता दिनेलाई नियमन गर्नुपर्छ। धार्मिक संस्था र विदेशी सहयोग नियमन गर्न विशेष ऐन ल्याउन सकिन्छ। हिन्दू, मुस्लिम, इसाई, बुद्ध, किराँत सबै धर्मका प्रतिनिधिहरूले सहअस्तित्व, सद्भाव र संवादलाई प्राथमिकता दिनुपर्छ।
धर्म मानव हृदयको आवाज हो, जुन स्वतन्त्र हुनुपर्छ— तर स्वार्थ, लोभ, दवाब र छलले होइन। ‘धर्मान्तरण’ त्यो बेला समस्यात्मक बन्छ जब त्यो प्राकृतिक आस्थाभन्दा बढी संगठित, योजनाबद्ध र राजनीतिक स्वार्थका लागि गरिन्छ।
धार्मिक स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक राष्ट्रको आत्मा हो, तर त्यसको दुरुपयोग धार्मिक उपनिवेशवाद बन्ने खतरा छ। नेपालजस्तो बहुधार्मिक, बहुजातीय राष्ट्रमा यस्तो प्रवृत्तिले अस्थिरता निम्त्याउन सक्छ।
धर्मको नाममा धर्मान्तरण गराउनेहरू धर्मप्रेमी होइनन्, आस्था तस्कर हुन्। त्यसैले, धर्मको आडमा भइरहेको आस्थाको अपहरणलाई चिन्न सक्ने चेतनशील नागरिक समाज निर्माण गर्नु आजको आवश्यकता हो। सनातन परम्परामा धर्मको मूल उद्देश्य आत्मकल्याण, सबैप्रति दया र सहिष्णुता हो। शिवजी, बुद्ध, नानक, महावीर सबैले सत्य–धैर्य–ज्ञानको बाटो देखाएका थिए, न कि धर्म परिवर्तनको।
हामी सबैलाई चाहिएको हो— धर्मको नाममा धर्मविरोधी कार्यको भण्डाफोर। आस्थामा फेरबदल होइन, चेतनामा जागरण होस्।


















