असार २५, इटली ।इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले यौनजन्य अपराध, विशेषतः छोटी बच्चीहरूमाथि हुने बलात्कार जस्ता जघन्य घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन कडा र ऐतिहासिक निर्णय लिएको घोषणा गरेकी छिन्। अबदेखि यस्ता अपराधका दोषीलाई केमिकल क्यास्त्रेशन (रासायनिक बन्ध्याकरण) को सजाय दिइने छ।
प्रधानमन्त्री मेलोनीको यो निर्णयलाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि निकै चर्चित र विवादास्पद कदमको रूपमा हेरिएको छ। यद्यपि, मेलोनीको भनाइ छ – “हाम्रो बच्चाहरूको सुरक्षा र नारीहरूको सम्मान भन्दा ठूलो केही हुन सक्दैन। जो व्यक्ति बलात्कार जस्तो अमानवीय अपराध गर्छ, उसले अब क्षमा पाउने छैन।”
के हो केमिकल क्यास्त्रेशन?
केमिकल क्यास्त्रेशन भन्नाले दोषी व्यक्तिको यौन क्षमता पूर्ण रूपमा नष्ट पार्ने रासायनिक प्रक्रिया हो। यसमा दोषीलाई नियमित रूपमा विशेष रासायनिक औषधिहरू दिइन्छ जसले उनको यौन इच्छा र हार्मोन प्रणालीलाई निष्क्रिय बनाइदिन्छ। यो सजाय मानसिक र शारीरिक रूपमा स्थायी असर पार्ने मानिन्छ।
इटलीको संसदमा पेश गरिने नयाँ विधेयकअनुसार:बलात्कार विशेषगरी बालिका र किशोरीमाथिको यौन हिंसाका दोषीलाई अनिवार्य रूपमा केमिकल क्यास्त्रेशन गरिनेछ।
सजायको अवधि र प्रक्रिया चिकित्सक तथा कानुनी समितिको निगरानीमा हुनेछ।
पुनः अपराध गर्ने दोषीहरूलाई आजीवन कारावास वा मृत्यु सजायको पनि व्यवस्था गरिने चर्चा छ।
मेलोनी सरकारको सन्देश
प्रधानमन्त्री मेलोनीले सम्बोधनमा स्पष्ट पारिन् कि उनी “माफ गर – सुधार गर” नीति भन्दा “शून्य सहनशीलता” को मार्गमा विश्वास गर्छिन्। उनले भनिन्, “बलात्कारीहरूलाई अब समाजमा स्वतन्त्रतापूर्वक घुम्ने अधिकार छैन। अब उनीहरूलाई कानूनको कठोरता झेल्नु पर्छ।”
यस निर्णयलाई लिएर इटलीका विभिन्न महिला अधिकारवादी संघ–संस्थाहरूले स्वागत गरेका छन्। उनीहरूले यो कदमलाई “नारी सम्मान र बालबालिकाको सुरक्षाको लागि ऐतिहासिक निर्णय” भन्दै समर्थन जनाएका छन्।
इटलीको इतिहासमै पहिलोपटक बलात्कारजस्ता यौन अपराधमा रासायनिक बन्ध्याकरणजस्तो कठोर सजाय लागू गर्न लागिएको हो। प्रधानमन्त्री मेलोनीको यो कदमले अपराधीलाई कडा सन्देश दिएको छ – “अब अपराध गरेर बच्न सकिने युग सकिएको छ।”
अब हेर्न बाँकी छ, इटलीको यो नीतिले अन्य मुलुकहरूलाई पनि यस्तो कदम चाल्न प्रेरित गर्छ कि गर्दैन।
















