असार २२ सबैला, धनुषा । स्थानीय सम्वाददाता –
सबैला नगरपालिकाभित्र औषधी व्यवसायमा व्यापक अनियमितता देखिएको छ। फार्मेसी तथा क्लिनिक सञ्चालनको नाममा सन्चालित पसलहरू अनुगमन टोलीको उपस्थितिमा सधैंजसो बन्द अवस्थामा भेटिन्छन्, जसले कानुनी रूपमै प्रश्न खडा गरेको छ।
औषधी व्यवस्था विभागको टोली वा स्थानीय प्रशासनद्वारा अचानक अनुगमनका क्रममा सबैला बजारलगायत नगर क्षेत्रका अधिकांश फार्मेसी तथा क्लिनिकहरूमा ताला झुण्डिएको देखिन्छ। पसल सञ्चालकहरू चोर नजर लगाउँदै फरार हुने गरेका छन्। यस्ता गतिविधिले औषधी व्यवसायमा गम्भीर गैरकानुनी क्रियाकलाप भइरहेको आशंका थप प्रबल बनाएको छ।
कसुर र अनुमान : अबैध औषधी कारोबार
स्थानिय स्रोतका अनुसार यस्ता फार्मेसीहरूबाट म्याद गुज्रेका, सरकारी सूचीमा प्रतिबन्धित, वा चोरि तस्करीमार्फत ल्याइएका औषधी विक्री भइरहेको हुनसक्ने आशंका छ। अनुगमन हुँदा पसल बन्द गरिनु आफैमा गलत नियत रहेको संकेत हो। यदि ती पसलहरूले कानुनी प्रक्रिया पुर्याएका, दक्ष फार्मेसी सञ्चालकमार्फत सेवा दिएका र प्रमाणित औषधी मात्र विक्री गरेका भए, अनुगमनमा भाग्नुपर्ने अवस्था आउने थिएन।
क्लिनिक र फार्मेसीको नाममा खेलवाड
सबैला नगरपालिकामा बिना अनुमति सन्चालनमा रहेका स्वास्थ्य संस्था र फार्मेसीहरूको संख्या दर्जनौंमा पुगेको अनुमान गरिएको छ। तीमध्ये कतिपयले दक्ष स्वास्थ्यकर्मी वा फार्मासिष्ट नभई अनाधिकृत व्यक्तिहरूबाट औषधी वितरण गरिरहेको प्रमाण भेटिएको बताइन्छ।
स्थानिय सरकार मौन किन ?
औषधी सम्बन्धी यस्ता गैरकानुनी क्रियाकलाप बढ्दो क्रममा हुँदा पनि स्थानिय सरकार पूर्णतः मौन रहेको देखिन्छ। न त नगरपालिकाले आफ्नै तहबाट नियमित अनुगमन गर्छ, न त यस विषयमा गम्भीर ध्यान दिन्छ। जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा यति धेरै लापरवाही हुनु आफैमा चिन्ताको विषय हो।
स्वास्थ्य अधिकारसम्बन्धी विज्ञहरूको चेतावनी
स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका विज्ञहरू भन्छन्, “यदि अबैध औषधीको बिक्री–वितरण नियन्त्रण गर्न सकिएन भने, आम नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्छ। नकली, म्याद गुज्रेका वा गलत औषधीका कारण ज्यान नै जाने खतरा पनि रहन्छ।”
जिम्मेवार निकायको ध्यान जाओस्
सबैला नगरपालिकाले तत्काल विशेष अनुगमन अभियान सञ्चालन गरी नगर क्षेत्रका सबै औषधी पसलहरूको दर्ता स्थिति, अनुमति प्रमाणपत्र, फार्मासिष्टको उपस्थिति, तथा विक्री भइरहेको औषधीको गुणस्तरको परीक्षण गर्न जरुरी देखिन्छ। साथै, दोषीहरूमाथि कानुनी कारबाही गर्न ढिलाइ हुनु हुँदैन।
यदि यस्ता गैरकानुनी क्रियाकलापमाथि कठोर निगरानी र कारबाही गरिएन भने, सबैला नगरपालिका जनस्वास्थ्य संकटतर्फ उन्मुख हुने स्पष्ट संकेत देखिन्छ।

















