५ कात्तिक , काठमाडौ। आगामी मंगलबारदेखि नेपालका धेरै क्षेत्रमा एक साताभन्दा बढी समय वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने भन्दै उनले सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले आगामी सातादेखि देशका धेरै स्थानमा वर्षा हुने संकेत देखाएको पोखरेलले बताएका छन्। उनका अनुसार केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।
यद्यपि, वर्षा हुने स्थान र त्यसको मात्रा फरक–फरक देखिएकाले कुन क्षेत्रमा कति पानी पर्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने उनले स्पष्ट पारेका छन्। मौसम पूर्वानुमानमा परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा मौसमसम्बन्धी सूचना हेर्न पनि उनले सुझाव दिएका छन्।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानलाई मौसमको अवस्था हेरेर काम गर्न आग्रह गरिएको छ। सम्भव भए वर्षा सुरु हुनुअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि काट्ने गरी योजना बनाउन उपयुक्त हुने पोखरेलको सुझाव छ।
त्यस्तै, केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना रहेकाले किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। हिमाली क्षेत्रमा जोखिम बढी हुन सक्ने भएकाले यात्रा तथा ट्रेकिङमा जाने व्यक्तिहरूलाई मौसमको नियमित अपडेट र आधिकारिक सूचनाका आधारमा आफ्नो योजना बनाउन पनि उनले सुझाव दिएका छन्।




















