महोत्तरीको औरही नगरपालिका साक्षर घोषित

३० असोज, महोत्तरी । महोत्तरीको औरही नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले ९७.८५ प्रतिशत साक्षरता दर हासिल गरेको जनाउँदै बिहीबार आयोजित कार्यक्रममा साक्षर नगरपालिका घोषणा गरेको हो ।

यससँगै औरही महोत्तरी जिल्लामा साक्षर घोषित हुने नवौँ स्थानीय तह बनेको छ ।

नगरपालिकाको आयोजनामा भएको घोषणा सभामा मधेस प्रदेशसभा सदस्य सुरिता साहले नगरप्रमुख प्रदीपकुमार खड्कालाई साक्षर नगरपालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

नगरपालिकाको ‘साक्षरता स्थिति तथा साक्षर घोषणा सम्बन्धी प्रतिवेदन–२०८३’ अनुसार १५ देखि ६० वर्ष उमेर समूहका १९ हजार ३९७ जनाको साक्षरता अवस्थाको मूल्याङ्कन गरिएको थियो । यसका लागि नगरपालिकाका नौवटै वडाका सात हजार ४२ घरधुरीबाट तथ्याङ्क सङ्कलन गरिएको थियो ।

नगरपालिकाले २०८३ वैशाखदेखि सञ्चालन गरेको साक्षरता अभियानमा ७२ जना साक्षरता सहजकर्ता परिचालन गरेको थियो । अभियानअन्तर्गत नागरिकलाई पढ्न, लेख्न, सामान्य हिसाबकिताब गर्न, मोबाइल तथा क्याल्कुलेटर प्रयोग गर्न, घडी हेरेर समय बताउन र दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक सीप सिकाइएको थियो ।

नेपाल सरकारको राष्ट्रिय मापदण्डअनुसार साक्षरताका १२ सूचकमध्ये कम्तीमा छवटा सूचक पूरा गर्ने व्यक्तिलाई साक्षर मानिन्छ । सोही मापदण्डका आधारमा गरिएको मूल्याङ्कनमा नगरपालिकाको साक्षरता दर ९५.१६ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

वडागत विवरणअनुसार सबैभन्दा बढी साक्षरता दर वडा नम्बर ७ मा ९९.४८ प्रतिशत रहेको छ । वडा नम्बर ९ मा ९९.४७ प्रतिशत, वडा नम्बर १ मा ९९.१२ प्रतिशत र वडा नम्बर ३ मा ९९.०७ प्रतिशत साक्षरता दर कायम भएको छ । सबैभन्दा कम साक्षरता दर वडा नम्बर ६ मा ९५.२५ प्रतिशत रहेको छ । न्यूनतम दर रहेको उक्त वडाले समेत राष्ट्रिय मापदण्ड पूरा गरेको नगरपालिकाले जनाएको छ ।

घोषणा सभामा नगरप्रमुख खड्काले साक्षरता अभियानबाट प्राप्त उपलब्धिलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले साक्षर बनेका नागरिकलाई सिकाइलाई निरन्तरता दिन आग्रह गर्दै नगरवासीलाई निरन्तर शिक्षासँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य सुरिता साह र रमिता प्रधान, नगर उपप्रमुख रेणु झा, शिक्षा विकास तथा समन्वय इकाइकी पदाधिकारी रिना कुमारी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रभूषण ठाकुर, नौवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र नगरपालिकाका कर्मचारीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहभागीहरूले निरन्तर शिक्षालाई प्रवर्द्धन गर्दै नगरपालिकालाई पूर्ण साक्षरताको दिशामा अघि बढाउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । साक्षरता अभियानमा योगदान पुर्‍याउने विभिन्न सङ्घसंस्था, व्यक्ति, कर्मचारी तथा साक्षरता सहजकर्तालाई सम्मानसमेत गरिएको थियो ।

अभियानमा सेभ द चिल्ड्रेन, आसमान नेपाल, जनकपुरधाम तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासले प्राविधिक सहयोग गरेका थिए ।

 

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more